• मंसिर १५ २०८१, शनिबार

हिंसा दोहोरिन नदिनेगरी टिआरसी विधेयक पारित गर्नुपर्छ : केपी ओली

माघ २२ २०८०, सोमबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले हिंसा दोहोरिन नदिने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित गर्नुपर्ने बताएका छन् । सोमबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले टीआरसीसँग सम्बन्धित विधेयकको मस्यौदामा केही कुराहरू नमिलेकाले मिल्न बाँकी कुरा सबै मिलाएर पारित गर्नुपर्ने बताए । पीडितहरूले न्याय पाउने, पीडित केन्द्रित कानुन बनाउनु पर्ने, अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुने, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर विधेयक पारित गर्नुपर्ने उनको भनाइ थियो ।

उनले मानवताविरुद्धका जघन्य अपराधमा छुट नहुने गरी र दण्डहिनता नहुने तथा फेरि नेपालमा हिंसा कहिल्यै नहोस् भन्ने ढंगले समाधान गर्नुपर्ने बताए ।

ओलीले भने, ‘टीआरसी पास गर्नुपर्छ । यसमा मस्यौदामा केही नमिलेका कुराहरू छन् । त्यसलाई मिलाएर पास गर्नुपर्छ । नमिल्नुपर्ने कारण नै छैन । पीडितहरूले न्याय पाउनुपर्छ । पीडित केन्द्रित हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य हुनेगरी, सर्वोच्च अदालतको फैसलालाई ध्यान दिएर हुनुपर्छ । मानवताविरुद्धका जघन्य अपराधमा छुट नहुने गरी, दण्डहिनता नहुनेगरी र फेरि हिंसा नेपालमा कहिल्यै नहोस् त्यस ढंगले समाधान गर्नुपर्छ ।’

अध्यक्ष ओलीले संघीय सरकारको कामकारबाहीले संघीयता अफ्ठ्यारोमा परिरहेको बताए ।