नवलपासी । अपरिचित व्यक्तिको गोली प्रहारबाट पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-१ बरुवास्थित न्यू धौलागिरी सुनचाँदी पसलका सञ्चालक बर्दघाट नगरपालिका-४ देविनगर बस्ने ६२ वर्षीय गजेन्द्र विक शनिबार साँझ घाइते भएका छन् ।
गजेन्द्रले पसल बन्द गरी लु.४८ प ७४३५ नम्बरको स्कुटरमा छोरासँगै घर फर्किने क्रममा बर्दघाट नगरपालिका-१६ कुकुरमारास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले गजेन्द्रमाथि गोली प्रहार गरी स्कुटर समेत लिई फरार भएको भन्ने खबर इलाका प्रहरी कार्यालय सेमरीमा प्राप्त भएको थियो ।
तत्काल खटिएको प्रहरीले घाइते गजेन्द्रलाई उपचारको लागि सामुदायिक अस्पताल चिसापानी लगेको थियो ।
उक्त अस्पतालबाट तिनाउ इन्टरनेशनल अस्पताल बुटवल रुपन्देहीमा रिफर गरिएकोमा पुनः थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।
प्रहरीले गोली प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।