एजेन्सी । उत्तर कोरियाले वासिङ्टन, सियोल र टोकियोको संयुक्त नौसैनिक अभ्यासको प्रत्युत्तरमा ‘पानीमुनि प्रहार गर्ने आणविक हतियार प्रणाली’ परीक्षण गरेको जनाएको छ ।
संयुक्त अभ्यासले उत्तर कोरियाको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको र त्यसको जवाफमा प्योङयाङले कोरियाको पूर्वी समुद्रमा निर्माणाधीन आफ्नो पानीमुनिको आणविक हतियार प्रणाली ‘हेल–५–२३’ को महत्वपूर्ण परीक्षण गरेको सरकारी समाचार संस्था केसीएनएले शुक्रबार जनाएको छ ।
गत वर्षको सुरुमा प्योङयाङले ‘रेडियोधर्मी सुनामी’ निम्त्याउन सक्ने दाबी गर्दै पानीमुनि आणविक हमला गर्ने कैयौँ ड्रोनको परीक्षण गरेको बताएको थियो ।
विश्लेषकहरूले प्योङयाङसँग त्यस्तो हतियार छ कि छैन भनेर प्रश्न उठाएका छन् । यसै साताको सुरुमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले दक्षिणी जेजु टापुको जलक्षेत्रमा संयुक्त नौसैनिक अभ्यास गरेका थिए ।