काठमाडौं । विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन भएको छ ।
लेखक, माक्र्सवादी चिन्तक तथा अग्रणी कम्युनिस्ट बौद्धिक निनु चापागाईंको संयोजकत्वमा शुक्रबार लेनिन स्मृति शतवार्षिकीको मूल आयोजक समिति निर्माण गरिएको हो ।
शतवार्षिकी समितिमा माक्र्सवादी अर्थशास्त्री हरि रोका, साहित्यकार नारायण ढकाल, कवि तथा समालोचक डा.अमर गिरी, समालोचक तथा प्राध्यापक डा.ताराकान्त पाण्डेय, लेखक झलक सुवेदी, लेखक तथा पत्रकार तुल्सीदास महर्जन, कवि कल्पना चिलुवाल, कवि बलराम तिमल्सिना, लेखक रोशन जनकपुरी, गायक जीवन शर्मा, प्रमोद धिताल लगायत १७ जना सदस्य रहेका छन् ।
मूल आयोजक समितिलाई विस्तार गरिने र यसमार्फत् वर्ष २०२४ भरि विभिन्न सहरमा कार्यक्रमहरु आयोजना गर्ने संयोजक चापागाईंले बताए । ‘यो हाम्रो प्रारम्भिक पहल हो, शतवार्षिकी समितिले विभिन्न प्रदेश तथा सहरमा पनि सम्भव भएसम्म संयोजन समिति निर्माण गर्नेछ र आश्यकता अनुसार विभिन्न विभाग बनाएर एक वर्षभरि कार्यक्रम गर्ने
सोच बनाएको छ,’ संयोजक चापागाईंले भने ।
‘हामी चार किसिमका काम गर्नेछौं–पहिलो, समाजवादी क्रान्तिमा र माक्र्सवादको विकासमा लेनिनका योगदान बारे र लेनिनवादको सान्दर्भिकता बारे विचारगोष्ठी तथा वैचारिक बहसहरु आयोजना गर्नेछौं; दोस्रो, लेनिनका महत्त्वपूर्ण रचनाहरुको पुन:प्रकाशन गर्नेछौं, तेस्रो, विभिन्न सहरमा सांस्कृतिक प्रकृतिका सभा र कलात्मक प्रदर्शनीहरु गर्नेछौं र चौथो, लेनिन बारे स्मारिका तयार गर्नेछौं ।’
रुसमा सन् १९१७ सम्पन्न भएको समाजवादी क्रान्तिका नायक तथा प्रथम समाजवादी व्यवस्थाका संस्थापक लेनिन माक्र्सवादी धाराका दार्शनिक, क्रान्तिकारी सिद्धान्तकार र मजदुर वर्गीय आन्दोलनका अगुवाका रुपमा प्रख्यात छन् ।
‘कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले प्रतिपादन गरेको कम्युनिस्ट सिद्धान्तलाई रुसमा क्रान्ति सम्पन्न गरी व्यवहारद्वारा सिद्ध गर्ने र संसारमा समाजवाद सम्भव छ भन्ने सन्देश फैलाउने महान् नेता हुन् लेनिन’, नवगठित शतवार्षिकी समितिका सदस्य हरि रोकाले भने,‘लेनिन हुन्थेनन् भने माक्र्सवाद केवल युटोपिया रहने थियो, किताबमा कतै थन्किने थियो । त्यसकारण,
संसारभरिका माक्र्सवादीले लेनिनलाई बिर्सन सक्दैनन्, बिर्सन हुँदैन ।’ लेनिनको जन्म सन् १८७० अप्रिल २२ मा भएको हो । उनको मृत्यु सन् १९२४ जनवरी २१ मा भयो ।
सन् २०२४ मा उनको मृत्यु भएको १०० वर्ष पूरा भएको छ । संसारभरिका कम्युनिस्टहरुले यो वर्षलाई लेनिनको स्मृतिको शताब्दी वर्षका रुपमा मनाइरहेका छन् । शतवार्षिकी समितिले लेनिनको मृत्यु भएको दिन जनवरी २१ (माघ ७) मा आफ्नो पहिलो कार्यक्रम काठमाडौंमा गर्ने जनाएको छ ।