• फाल्गुन २८ २०८१, बुधबार

हर्क साम्पाङले धरानमा विमानस्थल बनाइदिन मन्त्री किरातीलाई लेखे पत्र

कार्तिक २२ २०८०, बुधबार

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा विमानस्थल बनाउन पहल गरिदिन आग्रह गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पत्र लेखेका छन् ।

धरान उपमहानगरपालिका-१७ मा हवाई मैदान निर्माणका लागि यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद गरी हालसम्म विमानस्थल निर्माण नभएको भन्दै साम्पाङले मन्त्री किरातीलाई पत्र लेखेका हुन् ।

विमानस्थलको लागि भनेर जग्गा बिक्री वितरण गरेका जग्गा धनीहरुले जग्गा फिर्ता दिलाउन भन्दै उपमहानगरमा पटक-पटक निवदेन आएको स्मरण मेयर साम्पाङले पत्रमार्फत् मन्त्री किरातीलाई गराएका छन् । जग्गा किनेको यती इन्करपोरेटेड प्रालिलाई विमानस्थल निर्माणको अवस्थाबारे पत्रचार गर्दे काम अगाडि नबढाउनुको कारण बारे उपमहानगरले प्रश्न गरेको थियो ।

यतीले गत ९ असोजमा प्रश्नको जवाफ दिँदै पत्र पठाएको थियो । यतिले पठाएको पत्रमा ‘एयरपोर्ट बनाउने प्रयास गर्दागर्दै पनि अनुमति नपाएको कारण उक्त काम गर्न नसकेको’उल्लेख थियो । अनुमति नपाएको जवाफपछि धरान उपमहानगरले मन्त्रालयलाई पत्र लेखेको हो ।

उपमहानगरका मेयर साम्पाङका अनुसार २० वर्ष अघि नै यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद गरिसकेको तर हालसम्म पनि कुनै निर्माणको कार्य अघि बढ्न सकेको छैन ।