अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा नेपाली समाजमा जेजसरी भए पनि धनआर्जन गरेकाहरूले आफूलाई अरूभन्दा फरक वा सफल व्यक्तिका रूपमा चित्रण गरेको पाइन्छ । नवधनाड्य घर, गाडी, वैंक ब्यालेन्स, सुटेड, बुटेड् सुकिला, मुकिला हुने र आफू अरूभन्दा फरक वा ठुलो मान्छे भएको आत्मरतिमा रमाएको देखिन्छ ।
भ्रष्टाचार गरेर होस् वा दलाली, अरूलाई ठगेर होस् वा देशको ढुकटी दुरूपयोग गरेर पैसा कमाए पछि समाजमा ऊ अरू भुइँमान्छेभन्दा निकै माथि भएको अनुभूति गर्न थाल्दछ । यसो हुनुको पछाडि भुइँमान्छे भनिएको जमातले मेहनत गरेर धन कमाउनेहरू र भ्रष्टाचार, दलाली वा ठगी गरेर धन कमाउनेबीच फरक छुट्याउन नसक्नु हो ।
भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने र मेहनत गरेर धन कमाउनेलाई इज्जत गर्ने सामाजिक चेतनाको विकास नभएसम्म समाजमा पैसाको धाक लगाउनेहरूको जमात रही नै रहन्छ
नेपाली समाजको मनोविज्ञान औंठा छाप भए पनि, दलाल, तस्कर देशको ढुकटीमारा भए पनि हातका औंलामा सुनका आंठीहरू, गलामा सिक्री अत्तर छर्केका कपडामा सजिएर महँगा गाडीमा सयर गर्नेहरूप्रति आकर्षित छ । समाजका बुद्विजीवी, विद्वान, विज्ञ वा समाजसेवी पछाडि परेको अवस्था छ ।
अझै सत्ता र शक्तिको अगाडि त यो वर्ग अपहेलित नै हुनुपरेको स्थिति छ । यसरी हेर्दा बदनाम भएर भए पनि धन कमाएकालाई समाजले इज्जत दिँदा भ्रष्टाचार बढेको हो । कुशासन मौलाएको हो । यस्तो सामाजिक मनोविज्ञानको अन्त्य नभएसम्म तस्करहरू उत्साही भई नै रहन्छन् । धन आर्जनका अनैतिक बाटा र पाटामा लागिरहन्छन् ।
लोकलाज र नैतिकता उसका लागि पैसाको अगाडि केही पनि हुँदैन । तसर्थ, समाजले असल चरित्र र सामाजिक योगदानलाई इज्जत गर्न सिक्नुपर्छ । भ्रष्ट आचार भएकालाई सामाजिक बहिष्कार गर्नुपर्छ र यसै गरौं ।
समाजका सबै मानिसहरू खराब छैनन् । एउटा झिंगाले गिलासभरिको दुध प्रदूषित गराए जस्तै केही खराब आचरण भएका मानिसहरूले राजनीति, प्रशासन, निगम, प्राधिकरण आदि ठाउँलाई बदनाम गरेका छन् । जसरी माहुरी फूलको रस बटुल्न व्यस्त हुन्छन् त्यसरी नै असल व्यक्तिहरू आफ्नो काममा व्यस्त हुन्छन् इमानदार र सदाचारबाट डगमगाउँदैनन् ।
अहिले समाजमा यस्ता असल चरित्र भएका व्यक्ति एवं व्यक्तित्व ओझेलमा परेकाले भ्रष्टहरूको राज चलेको छ । तस्कर, भ्रष्टाचारी र बिचौलियाले मिडिया कब्जा गरेका छन्, स्टन्ट गरेका छन् । यो वास्तविकतालाई समाजले नबुझ्दा देश बर्बाद भइरहेको छ । वारम्बार असफल भ्रष्टको हातमा सत्ताको अवसर जुटिरहेको छ ।
समाजमा वनावटी चित्र र असल चरित्रबीच भेद छुट्याउन सक्ने क्षमताको अभाव छ, समाजले सज्जन र दुर्जन कहिले छुट्याउला ?
असल चरित्रबिना राम्रो कार्य सम्भव नै हुँदैन । समाजले सुनाम, कुनाम र बदनामको भेद छुट्याउन नसकेसम्म न त देशको राजनीतिमा सुधार हुन सक्दछ न त देशका अन्य क्षेत्रमा । असल कार्य त्यो हो, जसले समाज, राष्ट्र र सिंगो देशको भाग्य र भविष्यमा ठुलो योगदान पुर्याएको हुन्छ । हाम्रो समाजमा विभिन्न क्षेत्रमा योगदान दिएर समाजलाई गुन लगाउन सफल व्यक्ति एवं व्यक्तित्वहरू पनि छन् ।
विज्ञान, कला, साहित्य, समाज सेवा, राजनीति, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रहरूमा योगदान दिएका व्यक्ति तथा व्यक्तित्वहरू धेरै छन् । त्यसैले त समाज चलेको छ । इतिहासको कुरा गर्दा कुरा गर्दा जनक, बुद्ध, पृथ्वी नारायण शाह, लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारीलगायतका थुपै व्यक्ति एवं व्यक्तित्वले आफ्नो जीवनकालमा विभिन्न क्षेत्रमा योगदान पुर्याए ।
वर्तमान समयमा पनि आआप्नो क्षेत्रमा सकारात्मक योगदान पुर्याइरहेका सन्दुक रूइत, कुलमान घिसिङ, महावीर पुन आदि धेरै छन्
अहिले निःस्वार्थ भई समाज र देशको हितमा काम गर्नेहरूभन्दा आफ्नो स्वार्थ सिद्घगर्नेको बिगबिगी छ । समाजमा देखापर्ने घटनाको अनुभूतिले मानिसहरू बदनाम हुनबाट डराउन छाडेको भान हुन्छ । समाज अराजक बन्दै गएको अनुभूति हुन्छ । समाजमा नागरिक समाज, बुद्घिजीवीलगायत सर्वसाधारण जनताको तहमा पनि चिया, चौतारी, मेलापात एवं भेटघाटमा राजनीतिक चियोचर्चो हुने गर्दछ ।
विशेष गरेर राजनीतिक क्षेत्रमा हुने चर्चामा निराश र असन्तोष व्याप्त छ । यसो हुनुमा राजनीतिक नेतृत्वको मात्र दोष छैन । समाजको पनि त्यत्तिकै खोट छ । अहिले नेपाली समाज राजनीतिको नाममा बाँडिएको छ । आफ्नो दलको नेतृत्व जति नै बदनामी, भ्रष्ट वा असक्षम भए तापनि उसकै पछाडि लागिरहने समाज कसरी सचेत हुन सक्दछ ?
यस्तो चिन्तन र अभ्यासले देश कसरी निर्माण हुन सक्दछ ? भ्रष्टलाई गणेश परिक्रमा गर्ने कार्यकर्ता कसरी विवेकशील हुन सक्दछन् ? सक्दैनन् । जनहितमा काम गर्ने असल चरित्र भएको राजनीति वा नेतृत्व चयनमा एक जुट नभएसम्म न त राजनीति क्षेत्र सुध्रिन्छ न त विकास र सुशासन सम्भव छ ।
नेपाली समाजको सोच्ने तरिकामा सुधार हुन आवश्यक छ
हरेक नेपाली कुनै पनि राजनीतिक दलका नेता वा कार्यकर्ता हुनभन्दा पहिले ऊ नेपाली हो । नेतृत्वले राजनीतिक स्वार्थका लागि नागरिकलाई बाँडेका छन् । स्वार्थका लागि वा अज्ञानतावस नेपाली समाजमा देश बिगार्ने कित्तामा हामीहरू बाँडिनुहुँदैन, हामी किन बाँडियौं ? समाजमा राजनीतिक विश्वास र आस्थाका आधारमा नेपाली दाजुभाइ तथा दिदीबहिनीबीच झाँगिएको आपसी सबन्ध बिगार्नुहुँदैनथ्यो । किन बिगायौं ?
उल्लेखित मामलामा समाजको चेत खुल्नेबित्तिकै भ्रष्टहरू बहिष्कारमा पर्दछन् । असक्षमहरू बाहिरन्छन् । सामाजिक सद्भाव बलियो हुन्छ । अनैतिक कामबाट आर्जन गरेको नोटले भोट किन्ने काम बन्द हुन्छ । सामाजिक एकता बलियो हुन्छ । यसो भएपछि राजनीति क्षेत्रमा सुधार हुन्छ । राजनीति सुशासित बनाउन भए पछि प्रशासनतन्त्र सुध्रिन्छ । अनि विकासले गति लिन सक्दछ ।
राजनीतिक दल बद्लिने अवस्था देखिँदैन, यिनीहरूलाई राख्न, फ्याक्न वा बदल्न समाज बद्लिनुपर्छ
हाम्रो जस्तो सानो मुलुकमा खुद्रा पसल जस्तो सयांैको संख्यामा राजनीतिक दल किन चाहियो ? यी दलसँग थोरै वा धेरै मानिसहरू बाँडिएकाले नै यिनीहरू संसदमा पुगेका हुन् । सत्ता र भत्ताको सुविधा लिएका हुन् । अहिले यिनीहरू राजनीतिक अस्थिरताका खेलाडीका रूपमा दलीयस्वार्थमा तल्लीन भएका छन् ।
विभिन्न स्वार्थ बोकेका दलले सत्तालाई बाँडिचुँडी खाने अवसरका रूपमा उपयोग गरिरहेका छन् । यो अवसर दिने नेपाली समाज होइन र ? हामीहरू होइनौं र ? हौं, अब यसो नगरौं । लोकतन्त्रको मर्म र राष्ट्रियताको भावनाको कदर गर्नसक्ने राजनीतिक दल र नेतृत्व चयन गर्न अब नचुकौं ।