• मंसिर १२ २०८१, बुधबार

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

भाद्र २८ २०८०, बिहीबार

काठमाडौं । आज कुशे औंसी, अर्थात् बाबुको मुख हेर्ने दिन । आज हिन्दुधर्मालम्बीहरूले देशभर पितालाई विशेष सम्मान गरी मनाउने गर्दछन् । हिन्दुहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउँदैछन् । हिन्दु विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरेर जजमानकहाँ र्पुयाइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

बाबुको मुख हेर्ने दिनका नामले प्रख्यात यो दिनलाई गोकर्णे औंसी भनिन्छ । आजको दिनमा बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्छन् । पिता गुमाएकाहरूले भने विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् ।

‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

त्यस्तै, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त भइने शास्त्रीय मान्यता छ ।

त्यसैले आज बिहानैदेखि गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ ।

हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।