परिवेश
मुस्लिम समुदायको धार्मिक स्थल मश्जिद हो । मश्जिदमा मुस्लिम समुदायले नमाज पढ्छन् । मश्जिदमा हरेक शुक्रबार खुत्बा दिइन्छ । जुन खुत्वामा समाजलाई सही दिशा निर्देश गर्न सुझाव सहितको प्रवचन हुनुपर्छ भन्ने धार्मिक मान्यता छ । यसैगरी समुदायस्तरका धार्मिक प्रवचन कार्यक्रम पनि समाजलाई सकारात्मक सन्देश दिनका लागि राख्नुपर्ने इस्लामिक मान्यता रहेको छ ।
मश्जिदमा दिइने खुत्बा हरेक शुक्रबार हुने गर्छ । तर समुदायस्तरका धार्मिक प्रवचन समुदायलाई सही दिशा देखाउने आशयले समय सन्दर्भमा बेला मौकामा आयोजना गरिन्छ । यद्यपि यी दुबै प्रवचन समुदायलाई सही बाटो देखाउने आशयले गरिने भनी धार्मिक मान्यता रहे पनि मश्जिदका खुत्बाहरुमा कि त फलाना यस्तो ढिकाना उस्तो भनी आरोप लगाइन्छ कि भने महिलाहरुमाथि कटाक्ष गरिन्छ । यो मश्जिदको खुत्बामा मात्र होइन समुदायस्तरमा हुने धार्मिक प्रवचन कार्यक्रमहरुमा पनि यही रीत छ ।
कि फलाना ढिस्काना भनी एक अर्कालाई आरोप प्रतिआरोप लगाउने गरिन्छ । यतिले पुगेन भने महिलाप्रतिको आफ्नो नकारात्मक धारणालाई समुदायको मनमस्तिष्कमा पनि थुपार्ने काम गरिन्छ । जस्तैः भन्ने गरिन्छ कि एउटी महिलाले चार पुरुषलाई नर्कमा लगेर जान्छे । एउटी महिला बिग्रिइ भने परिवार मात्र होइन समाज नै बिग्रिन्छ । महिला पर्दाभित्र बस्नुपर्छ । बिना पर्दा हिंड्ने महिलाले अरु महिलालाई पनि असर पार्छे र हाम्रो छोरीबुहारीलाई पनि बिग्रार्छे । महिलाप्रतिको संकीर्ण सोच र तुच्छ मानसिकता विकास गर्ने काम गरिन्छ ।
अनि आफ्नो त्यही मानसिकतालाई पुष्टि गर्नका लागि कुरानपाकको सुरह नूरको आयत नं ३१ लाई संकेत गरिन्छ । जसमा लेखिएको छ अलकुरआन सुरह नूर आयात नं ३१ ः ‘मुसलमान महिलाहरुलाई आदेश देऊ आफ्ना आँखा (नजर) केही झुकाएर राखुन् र आफ्नो अस्मिताको रक्षा गरुन् र आफ्ना श्रृंगार नदेखाउन् तर जति आफै जाहेर छ र उनी आफ्ना छातीमाथि दोपट्टा हालुन् र आफ्ना श्रृंगार जाहेर नगरुन् ।’
तर त्यही आयात भन्दा पहिलोको आयात नं ३० मा लेखिएको छ । अलकुरानः सुरह नूर आयात नं ३० ः ‘मुसलमान पुरुषहरुलाई आदेश देऊ आफ्नो आँखा (नजर) केही झुकाएर राखुन् र आफ्नो गोप्य अंगहरुको हिफाजत गरुन् यो उनीहरुका लागि नै राम्रो हो । निःसंदेह अल्लाहलाई उनीहरुको सबै कार्य बारे जानकारी छ ।’
यसको बारेमा कहीँ कतै चर्चा र जिकिर गरिँदैन । किनभने यसमा पुरुषलाई मर्यादामा बस्न आदेश दिइएको छ । अधिकांश यस्ता प्रवचनमा पर्दाको विषयमा मात्र होइन हरेक विषयमा समुदायलाई आधा अधुरो जानकारी मात्र दिने गरिन्छ ।
जसरी महिलामाथि चार पुरुषलाई नर्कको भागीदार बनाउँछिन् भनी सन्देश प्रवाह गरिन्छ । त्यही महिलाले तिनै चार जना पुरुषलाई स्वर्ग पनि लग्नेछिन् भन्ने सन्देश खोइ त दिएको ? खोइ त सन्देश दिएको जुन स्वर्गमा तिमी जाने इच्छा गरेका छौ । त्यो स्वर्ग त आमाको पैतालामुनि रखिएको छ । यसकारण आमाबुवाको आदर, सम्मान र हेरचाह गर्नु भनी । खोइ भनेको कि छोरी रहमत हुन्छिन् छोरीको राम्रो शिक्षादिक्षा र पालन पोषण गर्नुपर्छ । खोइ त भनेको इस्लाममा दाईजोप्रथा छैन भनी ।
खोइ त भनेको आपसी सद्भाव कायम गर्नुस् । खोइ त भनेको छिमेकीको हक बारे । खोइ भनेको भाई बहिनीको पैतृक सम्पत्तिमा हक कति छ भनी । खोइ भनेको नमाज कसरी पढ्ने रोजा बस्दा के गर्न हुने के गर्न नहुने भनी । खोइ भनेको वजू कसरी गर्ने भनी । खोइ भनेको गुस्ल कसरी गर्ने भनी । खोइ भनेको हलाल कमाइ के हो र हराम कमाइ के हो भनी । खोइ भनेको सभ्य आचरण अंगाल्नुस् भनी । खोइ भनेको अनाथ बालबालिकाहरुको हक नखानु भनी । खोइ भनेको खानेपिउने, उठ्ने बस्ने, हिंड्ने सुन्नत तरिकाको बारेमा ।
जसका कारण अहिलेसम्म यस्ता प्रवचनहरुको सकारात्मक प्रभाव भने समुदायभित्र खासै देखिएको पाइन्न । जसको परिणाम स्वरूप आज पनि समुदाय धेरै महत्वपूर्ण जानकारीहरुबाट अनभिज्ञ नै छ । हो ती महत्वपूर्ण जानकारी भनेको चाहिँ कुरानपाकमा लेखिएको अल्लाह को सन्देश र हदीस शरीफमा लेखिएका पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहेवसल्लमका पवित्र वाणी हुन् ।
कुरानपाकमा महिला अधिकार, बालबालिकाहरुको शिक्षा, छोरीको पैतृक अधिकार, अनाथ बालबालिकाहरुको अधिकार, दाईभाईको अधिकार र कर्तव्य, आमाबुवाका अधिकार र कर्तव्य, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, हराम कमाइ जस्तै सुदव्याजबाट टाढा रहने सन्देश, छिमेकीको अधिकार, तलाकका प्रकृया र उद्देश्यबारे वास्तविक जानकारी, तलाकपछि पुनः घरबास गर्न चाहे त्यसको विधि र प्रकृया, नमाज पढ्ने सही तरिका, वजू गर्ने सही तरिका, गुस्ल गर्ने सही तरिका, रोजा बस्दा गर्नु पर्ने र गर्न नहुने काम र खाना खाने, पानी पिउने, हिंड्ने, उठ्ने, बस्ने सुन्नत तरिका आदि । जसको बारेमा समुदायलाई सही जानकारी छैन ।
यसैगरी पैगम्बर हजरत मुहम्मद मुस्तफा सल्लल्लाहु अलैहेवसल्लमका पवित्र वाणी र उनको आचरण बारे पनि समुदायभित्र अनभिज्ञता कायम नै छ । पैगम्बर मुहम्मद सल्लल्लाहु अलैहेवसल्लम आउनु पूर्व छोरीहरुलाई जिउँदै माटोमा पुरिदिने चलन थियो । उहाँले छोरीहरुलाई बाँच्न पाउने अधिकार दिलाउनु भयो । उहाँले छोरी हजरत फातिमा सलामुल्लाहे अलैहा भेट्न आउँदा उठेर सम्मान दिनु हुन्थ्यो । ताकि समुदायले छोरीको महत्व बुझुन् । जुन समुदायमा विधवा महिलाहरुलाई अपहेना गरिन्थ्यो । त्यही समुदायमा विधवा महिलासँग विवाह गरी विधवा महिलाहरुलाई सम्मान दिलाउनुभयो ।
जुन समुदायमा पत्नीलाई जुत्ताको डोरी भन्दा कमतर ठानिन्थ्यो, त्यो समुदायमा पत्नीलाई सम्मान र अधिकार दिलाउनुभयो । जुन समुदायमा बुवा बितेपछि छोराले विवाह गर्ने चलन थियो । त्यो समुदायमा आमालाई सम्मान दिलाउन आमाको पैतालामुनि स्वर्ग हुन्छ भनी सन्देश दिएर आमालाई सम्मान दिलाउनु भयो । जुन समुदायमा मजदूरलाई गुलाम ‘बधुंवा नोकर’ सरह राखि पारिश्रमिक नदिएर जनावर जस्तै व्यवहार गरिन्थ्यो । त्यो समुदायमा मजदूरहरुको पहिलो हक उनीहरुले स्वयम् ज्याला तय गर्न पाउने, आफूले इच्छाएको काम रोज्न पाउने र पसिना सुक्नु अघि नै पारिश्रमिक पाउने नीति लागु गर्नुभयो ।
यसै गरी ‘शिक्षा सबैका लागि’ भनी सन्देश दिनुभयो । छोराछोरी सबैलाई समान शिक्षाको अधिकार दिलाउनु भयो । राम्रो आचरण, इमानदारी, सच्चाई, मानवता, सद्भावको शिक्षा दिनुभयो । मानिसहरुलाई खाना खाने र पानी पिउने सही सुन्नत तरिका सिकाउनु भयो । तर आज मश्जिदहरुको खुत्बामा र समुदाय स्तरका धार्मिक प्रवचन कार्यक्रमहरुमा यी सन्देशहरुको बारेमा चर्चा गरिँदैन । जसको परिणाम हामी हेर्न सक्छौं ।
परिणाम
आज बालबालिकाहरु समान शिक्षाबाट बन्चित छन् । महिलाहरुमाथि हिंसा भइरहेको छ । दाइजोका कारण महिलाहरुलाई कुटपिट गरिन्छ । दाइजोकै कारण महिलाहरुको ज्यान समेत गइरहेको छ । घरेलु हिंसा र दाइजोका कारण अधिकांश महिलाहरुलाई तलाक दिएर बेघर बनाइएको छ । बेइमानी, भ्रष्टाचार, व्यभिचार, र खराब आचरण बढ्दै गइरहेको छ । अनाथ बालबालिकाहरुको हकमाथि अरुले कब्जा गरिरहेकाछन् । भाईभाई बीच तनाव र मतभेद छ ।
आपसमा प्रेम, सद्भाव र अपनत्व घट्दै गइरहेको छ । मजदूर (काम गर्ने) हरुलाई उनीहरुको परिश्रम अनुसार उचित पारिश्रमिक दिइँदैन । बसेर जसरी सुन्नत तरिकाले खानु पर्ने त्यो नगरी उभिएर खान्छन् । अनि पानी बसेर पिउनु पर्ने तर कोही कहिले उभिएर कोही कहिले पल्टिएर पिउँछन् । किनभने यसका बारेमा उनलाई विस्तृत र सही जानकारी नै छैन । गुस्ल, वजू, नमाज, रोजा, हज र जकात जस्ता अति महत्वपूर्ण कुराको बारेमा सही जानकारी छैन ।
निष्कर्ष
मश्जिदको खुत्बा र समुदायस्तरका धार्मिक प्रवचनमा महिलाप्रतिको नकारात्मक धारणा र मानसिकता फैलाउनुको सट्टा इस्लामले महिलालाई दिएको सम्मान, अधिकार, कर्तव्य, अनाथ बालबालिकाहरुको अधिकार, सामाजिक सद्भाव, सभ्य आचरण, इमानदारी र मानवताको शिक्षा र सन्देश दिनु आजको आवश्यकता रहेको छ ।
किनभने जुन महिलाले चार जना पुरुषलाई नर्कको भागिदार बनाउन सक्छिन् तिनै महिलाले आफ्नो राम्रो आचरण र सभ्य संस्कारले तिनै चार जना पुरुषलाई स्वर्गको हिस्सेदार पनि बनाउन सक्छिन् । किनभने इस्लामिक मान्यता अनुसार स्वर्ग महिला (आमा) कै पैतालामुनि राखिएको छ ।