राजनीतिक इतिहासमा निरन्तर आउने त्यस्ता कालखण्डमध्ये एउटा कालखण्डको अग्रिम परिदृष्य नेपाली राजनीतिमा देखापरिसकको छ । पुरानो र गत्यावरोधपूर्ण परिपाटी र त्यसको प्रयोगको विकल्प जनताले खोजिरहेका छन् ।
तर राजनीतिक दलहरूले आफूहरूमध्ये एउटा बदनाम भए अर्को र अर्को बदनाम भए अझ अर्को दल रहेकाले चलिआएको परिपाटी नभत्कने र पचासौं वर्ष आफूहरूले नै पालैपालो खाइरहने भ्रमपूर्ण सोच पालेर बसिरहेका छन् ।
आमजनता नेता तथा राजनीतिक दलहरूको पुनर्संस्कार भएको हेर्न चाहन्छन् । त्यो हो, विचार र व्यवहारमा नवीन अभ्यास ! तर विद्यमान राजनीतिक दल र तिनका शीर्ष नेताहरूबाट त्यो संभव छैन । ‘हामी अग्रगामी हौं’ भन्ने भ्रमपूर्ण सोचले उनीहरूलाई दूर्गतिको बाटोतर्फ अग्रसर गराइरहेको छ ।
अग्रगामी हौं भनेर मन्त्र जपेर कोही पनि पुनर्संस्कृत हुन सक्दैन । सुनपानीले चोख्याएर राजनीतिक यात्रा पनि दिगो हुँदैन । राज्यसत्ता भनेको दैनन्दिनकासाथै रणनीतिक समस्याको समाधान गर्ने यन्त्र पनि हो । यो राजनीतिक संयन्त्रद्वारा सञ्चालित हुन्छ ।
तर राजनीतिक संयन्त्र नै गतिहीन र निकम्मा भएपछि त्यसको विकल्प अनिवार्य हुन जान्छ । यसको सङ्केत व्यवहारमा देखिइसकेको पनि छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, जसलाई यिनै राजनीतिक दलहरूले पश्चगामी भनिरहेका छन्, ले क्रमशः गतिशीलता देखाइरहेको छ ।
विचार, कार्यदिशा र कार्यनीतिको कुरै नगरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी छलाङमय गतिमा छ । जनताले सार्वभौम सदनमा ठूला पार्टीका नेताहरूले के बोले भनेर सुन्न र हेर्न समेत छाडिसकेका छन् । रास्वपा र प्रपाका स्वरहरू जनताका लागि अहिले कर्णप्रिय बनिरहेका छन् । यसको समीक्षा ठूला दलहरूमा छैन ।
‘विनास काले विपरीत बुद्धि’ यस्तो हुन्छ । राणा शासन, शाह शासन, पञ्चायतको अनिवार्य पतन हुनुका पछाडि पनि यस्तै नियत र कर्महरूले काम गरेका थिए । तर ती न त सच्चिए, न त पुनर्संस्कृत नै भए । बरू आफ्नै बाटो गए ।
नेपाली राजनीतिमा आज ठीक त्यही मोड आइपुगेको छ । नेपालका राजनीतिक दलहरूले आफूलाई समयमै सच्याउने मौकाबाट बञ्चित भइसकेका छन् । यिनीहरू ‘भीरबाट लडेको गोरूलाई काँध थाप्न नसकिने’ तर ‘राम ! राम !!’ भन्न चाहिँ सकिने अवस्थामा धकेलिएका छन् ।
संसदमा रहेको सरकार निरीह छ । प्रतिपक्षका वैकल्पिक एजेण्डा नै छैनन् । बरू साना र नवोदित दलहरू खिरिला र सुरिला बनेर देखापरिरहेका छन् । अब त महाभारतमा श्रीकृष्णले भनेझैं ‘पश्चात्ताप गर्नका लागि पनि समय हुनुपर्छ ।’
पश्चात्ताप गर्नु भनेको सुध्रनु मात्र होइन । व्यवहारमा पुनर्संस्कृत भएर समाजमा पुनस्र्थापित हुनु पनि हो । यो एउटा वैचारिक तथा व्यवहारिक कर्यविधिगत प्रक्रिया पनि हो । पश्चात्तापबाट मुक्त भएको देखिन र देखाउन एक निस्चित प्रक्रिया अवश्यै पार गर्नुपर्ने हुन्छ ।
यही मौका नेपालका राजनीतिक दलहरूका लागि छैन । परिणामतः जब निर्वाचन हुन्छ, सत्ताधारी तथा प्रतिपक्षका नेता तथा पार्टीहरू गठबन्धन बनाउँछन् । यो प्रजातान्त्रिक मूल्य मान्यता विपरीत कुरा हो । यो बहुमतको नाममा लादिने तानाशाही हो ।
यसले प्रजातन्त्रको मानमर्दन गर्ने मात्र होइन, प्रजातन्त्रको गर्दन पनि काटिदिन्छ । यस्तो खाले तानाशही नेपाली जनताले पचाउने र पत्याउने पक्षमा छैनन् । यसको परिणाम त कति हास्यास्पद हुन पुगेको छ भने सत्ताधारी र प्रतिपक्षीको आआफ्नै गठबन्धन, गाँठबन्धन, तटबन्धन, बारबन्धन, रक्षाबन्धन र साझा कार्यक्रमको बन्धन पनि सामान्य स्वतन्त्र उमेदवारहरूले निमेषभरमै लथालिङ्ग र भताभुङ्ग पारिदिन्छन् ।
यो भन्दा हास्यास्पद र लज्जाजनक कुरा अरू हुनै सक्दैन । तर यसका लागि राजनीतिक दल पुनर्संस्कृत हुन तयार छन् त ? छैनन् र देखिदैनन् पनि । अहिले एमाले पार्टीको सदस्यता संख्या आधाभन्दा बढीले घटेको तथ्य सार्वजनिकै र सर्वविदितै छ ।
सबै पर्टीको पार्टी सदस्यता नवीकरण संकटमा छ । किनकि ठूला भनिने पाटी अब जनअनुमोदित हुन छाडेका छन् । बरू ती त केवल मजाकका पात्र बनिरहेका छन् । नेपाली कांग्रेस महामन्त्री गगन थापाको पार्टी सदस्यता सङ्ख्या बढाउने प्रस्ताव यही तीतो अनुभूतिको अभिव्यक्ति हो । माओवादी केन्द्र अहिले ‘कोमा’ मा छ ।
यदि ठूला पार्टीहरू ढिलो भए पनि पुनर्संस्कृत हुन चाहने हो भने :
क) विचार स्पष्ट लेऊ । नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद कहाँ गयो ? एमालेको बहुदलीय जनवाद कता हरायो ? माओवादीको जनवाद वा एक्काइसौं शताब्दीको जनवाद कहाँ बिलायो ?
ख) यदि यी पार्टीहरूका यी वैचारिक चरणहरू पूरा भएका हुन् भने कसरी पूरा भए एक एक गरी जनताका बीचमा स्पष्ट पारिनु पर्छ ।
ग) किनकि यिनले उठाएका सशस्त्र संघर्षमा जनताले प्राणको आहुती दिएका छन् । जनताले आआफ्नो हिस्साको खोजी गरिहेका छन् । यसको जवाफ कसरी दिन्छन् यिनीहरू ?
घ) अहिले समाजवादको रटान देखिन्छ । विगतमा अङ्गीकार गरिएका वैचारिक कार्यदिशाका बारेमा समीक्षा नगरिकन वर्तमानको व्याख्या कसरी पुग्छ ? अनि, यी पार्टीहरू समाजवादको वैकल्पिक यात्रामा के अर्थमा लामबद्ध हुन्छन् ?
ङ) अहिलेका शीर्ष भनिने नेताहरू सबै ‘टेस्टेड’ छन् । यी सबै विफल छन् । यिनीहरूमाथि जनताको रत्तिभर विश्वास देखिदैन । के ती पार्टीभित्र रहेका युवाहरू नयाँ विचार लिएर सिंगो पार्टीलाई पुनर्संस्कृत गरेर लान तयार छन् । त्यो खुवाब राख्छन् ?
च) नेपाली जनता एक चरण पुनः अधिकारसहित एकताबद्ध हुन चाहन्छन् । यो प्रक्रिया कसरी पूरा गर्ने ? छ विचार र योजना यी पार्टीहरूमा ? यी पार्टीका युवा नेताहरूमा ?
छ) समग्रमा नयाँ भिजन आवश्यक छ । भिजनरी नेताको खाँचो छ । के ठूला भनिने दलहरू पुनर्संस्कृत हुन संभव छ ?