काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको बुधवार भएको उद्घाटन खेलमा नेपाली टोली कुवेतसँग ३–१ गोलले पराजित भएको छ । कुवेतले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको हो ।
नेपालले भने एक मात्र गोल दोस्रो हाफमा गरेको थियो । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३औँ मिनेटमा कप्तान खालिद हाजिहले गरेका थिए । फवाज वालोताइबीले बायाँतर्फको कर्नरबाट उपलब्ध पासलाई सदुपयोग गर्दै उनले खाली पोस्टमा हेडमार्फत् गोल गरेका थिए ।
त्यतिबेला नेपाली टोलीका गोलरक्षक किरणकुमार लिम्बु पनि अगाडि बढेका थिए । दोस्रो गोल भने निर्धारित समयको ४२औँ मिनेटमा सबाइब अलखालदीले गरे । उनले डिबक्स भित्रबाट गरेको प्रहार गोलरक्षक किरणलाई समेत छक्क्याउँदै गोलमा परिणत भएको थियो ।
कुवेतका लागि तेस्रो गोल निर्धारित समयको ६५औँ मिनेटमा मोहम्मद अब्दुल्लाहले पेनाल्टीमार्फत् गरेका हुन् । नेपालका रक्षापंक्तिका अनुभवी खेलाडी अनन्त तामाङले पेनाल्टी बक्सभित्र हातले बल छोएपछि कुवेतले पेनाल्टी प्रहारको अवसर पाएको थियो । नेपालका लागि भने ६८औँ मिनेटमा अञ्जन विष्टले गोल फर्काएका थिए ।
त्यसअघि खेलको ३५औँ मिनेटमा अञ्जन विष्टले विपक्षीको डीबक्स नजिकै बल पाएका थिए । कुवेतका डिफेन्ससमेत केही पछाडि थिए तर, बल मिलाउन केही समय लाग्दा उनी गोल गर्नबाट चुके ।
त्यसलगत्तै ३५औँ मिनेटमै मोहम्मद अब्दुल्लाहको हेड प्रहार पोष्टमा लागेर फर्किएपछि नेपाल गोल खानबाट जोगिएको थियो । तुलनात्मक रूपमा अग्ला कुवेतका खेलाडीले गरेको थुप्रै सशक्त प्रहारलाई नेपालका गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरेका थिए ।