• आश्विन ५ २०८१, शनिबार

प्रतिनिधि सभा किन डुङ्डुङ्ती गन्हाइरहेछ ?

जेष्ठ २६ २०८०, शुक्रबार

इमानदारीता शब्द सबैका लागि सामान्य जस्तो लाग्न सक्छ । तर जब मानिसले यसको सही अर्थ बुझी इमानदार बन्दछ तब मात्र हरेक मानिसले इमानदारीता हासिल गर्दछ ।

आजभोलि इमानदारीता भन्ने शब्दले हामी मानिसलाई जिस्काइरहेको छ । हामीलाई गिज्जाइरहेको छ । चाहे उच्चस्तरमा क्रियाशील मानिसको गतिविधि हेरौं या त तपाईं हामी जस्ता सामान्य मानिस किन । आज इमानदारीता हराउँदै गइरहेको छ । प्रसंग प्रतिनिधि सभा बैठक र बैठकमा सहभागी सांसदहरुको गतिविधि, व्यवहार र क्रियाकलापलाई एक पटक केलाउने हो भने हामी सबैले छर्लङग बुझ्न सक्छौं र बुझी पनि रहेका छौं । यसो भन्दै गर्दा फेरि सांसदहरुले मात्र इमानदारीता गुमाए र तपाईं हामी चोखो छौं भन्न भने खोजिएकी होइन ।

दिन प्रतिदिन मानिसहरु, राष्ट्रहरु र विश्वमाझ किन समस्याहरुको चाङ लाग्दै छन् त ? किन आज राजनीतिक जस्तो पवित्र स्थानमा दरिद्रता जस्तो गतिविधि भइरहेको छ । किन मानिसको हृदयमा इमानदारीताले बास गर्न सकिरहेको छैन । यस्ता विषयमा के तपाईं हामीले एक पटक म भनेर

आ–आफ्ना हृदय र मन मस्तिकमा सोचेका छौं त सायद हामीलाई यतातिर सोच्ने फुर्सद कहाँ छ र ? हामीमा केवल छ त कसरी राष्ट्रको ढुकुटी रित्याउने, कसरी एकले अर्कालाई तल गिराउने, कसरी त भन्दा म ठूलो हौं भन्ने घमण्ड देखाउने जस्ता मनस्थिति र सोंचले ग्रसित भएर अगाडि बढेका छौं । जसले गर्दा आज नेपालको प्रतिनिधि सभा पनि डुङ्डुङ गन्हाउँदै छ हामी जनताले ती गन्नाएका फोहोर सुँघ्न बाध्य छौं ।

यस्ता विषय उठान गर्दा सायद हामीलाई हाँसो लाग्न सक्छ तर प्रतिनिधि सभा किन यसरी दिनदिनै डुङ्डुङ गन्हाउँदै छ त यस बारेमा छलफल गर्नु, बहस गर्नु तपाईं हामी नागरिकको कर्तब्य र जिम्मेवारी हो ।

जनताको सपनालाई पुरा गर्छु भनेर जनताको प्रतिनिधि भएर संसद भवनमा पुगेका सांसदहरुको घिनलाग्दो गतिविधिका कारण आज संसद भवन डुङ्डुङ गन्हाएर बसिनसक्नु छ । जनताका एजेण्डा भन्दा पनि आफ्ना व्यक्तिगत स्वार्थ र आफ्ना पार्टीका स्वार्थलाई लिएर रडाको मच्याउँदै एकले अर्कालाई दोषारोपण लगाउँदै समय काटिरहेका छन् । त्यति मात्र नभई ती सांसदहरुका आफ्ना पार्टीका कार्यकर्ताहरुले समेत गलत कार्यलाई सही हो भनेर ताली बजाउन माहिर छन् ।

आफ्ना पार्टीका जति नै गलत कार्य भए पनि सही र अर्का दलले राम्रो एजेण्डा लिएपनि, सही कुरा गरे पनि गलत हो भनि झमेला सिर्जना गर्ने गतिविधि भइरहेका छन् । त्यसकारण जनताको सपना पुरा हुने त परै जावस् देशको गति कतातिर पुग्ने हो थाहा छैन । केवल थाहा छ सबैलाई आफू र आफ्नो दल अनि कार्यकर्ताको चिन्ता !

विशेष गरी राज्यको उच्चस्थानमा बसेर काम गर्ने प्रतिनिधिहरुले यो कुरा बुझ्न जरुरी छ । इमानदारी नै सबै समस्याहरुको समाधान गर्ने एक मात्र सफलाताको उपाय हो । हरेक समस्याको साँचो भनेर पनि बुझ्न सकिन्छ । तर दुःखको कुरा राज्य सत्ताको बागडोर सम्माने व्यक्तिहरुमा नै इमानदारी नभइदिँदा आज राजनीतिकमा दरिद्रताले जरो गाडेको छ ।

केही दिन अघि प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण गरेर नेपाल फर्किएपछि भैंसी काण्डको विषयले संसद भवनमा चर्काचर्की मच्चियो । प्रम दाहालले यस पटकको भारत भ्रमणमा विकास र आर्थिक पक्षका बारेमा सम्झौता गरेका थिए तर त्यो विषयमा सांसदहरुको त्यति ध्यान गएन तर भैंसी काण्डलाई यति ठूलो विषय बनाइयो कि हामी नेपाली एउटा कृषि प्रधान राष्ट्रका नागरिक हौं भन्ने कुरा पनि बिर्सिएर भैंसी काण्डमा रुमलिरहेका हौं । त्यसले गर्दा प्रतिनिधि सभामा उठाइनु पर्ने महत्वपूर्ण विषयहरु रोकिन पुग्यो ।

हुन त यति बेला संसदमा बजेटकै बारेमा दलहरुबिच चर्काचर्की भइरहेको छ । के यही हो त हामी सांसद भनाउँदाको हैसियत के यही हो त हामी ठूला दलका नेता साना दलका नेता नयाँ दलका युवा नेताको देश र जनताप्रतिको विश्वास र इमानदारीता ? उफ साँच्चै नै यस्ता गतिविधिहरु र सोंचाई र व्यवहार हेर्दा हामीले बुढा नेताहरुलाई गालीगलौज गर्नुको कुनै तुक छैन ।

पछिल्लो पटक जनताले नयाँ पार्टीका युवा नेताहरुलाई देश र जनताका लागि केही गतिलो काम गर्छन् कि भनेर आशा, भरोसा र विश्वास गरेर ठाउँमा पुराएका छन् तर तिनै नेताहरु आज संसद भवनमा जनताको भावनालाई सम्बोधन गर्ने र समस्याका समाधान गर्ने विषय भन्दा पनि झमेला गर्ने विषयमा समय खर्चेर संसद भवनमा ठूला ठूला आवाजले जनतालाई दिग्भ्रमित गर्ने काम गरेको सुन्दा बढो उदेक लागेर आउँछ । संसद भवनमा ठूला र चर्को स्वरले कराएर चिच्चाएर मात्र जनताको मन जित्न सकिने कुरो होइन ।

हिजो पुराना नेताहरुले पनि आफू युवा हुँदा यसैगरी गतिविधि गर्दै आए । आज नयाँ दलका युवा नेताहरुले पनि त्यही सिको गर्दै छन् । यी दुईमा फरक केही पाउदैनौं भने युवा नेताले बुढा नेतालाई दोष लगाउनु मुर्खता होइन तर देशमा विभिन्न दलहरु आए तर जुनै दल आए पनि जनताको सपना जहाँको त्यही छ । जनताको मुहार आजपनि फेर्न सकिएको छैन ।

संसद भवनमा बजेटको बारेमा चर्काचर्की बहस गर्दै गर्दा यता नेपाली जनताहरुले साँझ र विहान दुई छाक जोहो गर्न पनि धौधौ परिरहेको अवस्था छ । तर जनताको हितका लागि कहिल्यै बजेट पारित भएको अवस्था छैन । बजेट पारित हुन्छ त त्यही ठूलाबढाका हितका लागि मात्र । यसबारेमा खोई त युवा नेताहरुको ध्यान केन्द्रित भएको ? मुखले मात्र निमुखा जनताका लागि यो गर्छु त्यो गर्छु भनिन्छ तर व्यवहारमा पनि केही पनि लागु हुन सकिरहेको छैन । यस्ता विषयका आवाज हुँदा पनि सम्बन्धित निकायले कानमा तेल हालेर बसिरहेको अवस्था हामी सबैलाई जगजाहेर छ ।

यति मात्र नभई केही सांसदहरुले त प्रतिनिधि सभालाई आफ्नै मागी खाने भाँडो जस्तो गरी म जस्तो जान्ने सुन्ने अरु कोही छैन भन्ने जस्ता दमले बोलेको बोल्यै गरेर आफू भित्रको इमानदारीता कस्तो रहेछ त भन्ने कुरा छरप्रष्ट पारे । अन्य सांसदले बोले समय पनि यिनै दम भएका सांसद नेताहरुले समय खाई रहेका छन् । संसद भित्र पनि त भन्दा म के कम भन्ने दादागिरीले प्रतिनिधि सभा चलेको छ ।

प्रतिनिधि सभामा गइसकेपछि सबै सांसदको हैसियत एउटै हो चाहे तराई होस् या हिमाल या पहाडको । जुनसुकै समुदायबाट प्रतिनिधि भएर संसदमा पुगे तर त्यहाँ भित्र पनि बोलवालाहरुकै हालीमुहाली छ । विषयवस्तुमा केन्द्रित हुनुको साटो कसरी अरुलाई गिराउने हिसाबले एकले अर्कालाई दोहोरी हान्ने काम भइरहेको छ । संसदमा कति समय आफूले बोल्ने हो त्यो कुरालाई हेक्का नराखी मनोमानी तरिकाले दमका साथ बोल्ने गर्दछन् । के यो एउटा सांसदमा हुनुपर्ने इमानदारीता वा नैतिकता हो त ? यस्ता विषयले आज आम नागरिक चिनिन्त मात्र होइन यस्ता नेताका कारण पीडित भएका छन् तर यसको आवाज कसले उठाउने ? यस्ता विषयमा तपाईं हामीले गम्भीर भएर सोच्नु पर्ने हो कि !

प्रतिनिधि सभामा आफू कति बोल्दा ठिक हुन्छ र जनताले के चाहान्छन् भन्ने विषय भन्दा पनि अर्को दललाई कसरी बदनाम गर्ने कसरी जनताका सामु भ्रमण फैलाउने जस्ता कुरा गरेर संसद भवन यतिसम्म फोहोरी बनाइसके । त्यही संसद भवन भित्र बस्ने अन्य सांसदहरुको मनस्थितिले समेत नकरात्मकता सोच्न बाध्य भएको देखिन्छ । तर हामी नेपाली जनता केवल हेर्ने मात्र हो । अझ जनता कै कुरा गर्ने हो भने आफ्ना दलले प्रतिनिधि सभाका गलत बोले पनि सही नै भनेर बाहिरबाट वाह वाही गर्न हामी पछि पर्दैनौं ।

हामीमा अलि कति पनि हिम्मत इमानदारीता छैन गलत र सहि के हो भनेर छुटाउने ? छौं त हामी केवल पार्टीभक्त । पार्टीका अगुवाले जे गरे पनि ठिक छ भन्ने सोंचका कारण हामी मानव भएर यस धर्तिमा जन्मिएको सत्यता र इमानदारीतालाई गुमाउदैछौं । यसरी भन्दै गर्दा सबै दलका इमानदार नेतालाई भने भन्न खोजिएको होइन सयमा एक दुई जना इमानदार नेताहरु जन्मिदै छन् । आउने दिनमा तिनीहरुले पक्कै पनि देश र जनताको मुहार फेर्ने छन् यसमा दुई मत छैन । तर ती इमानदार नेतालाई त्यस्ता भ्रष्ट सोंच भएका दलका व्यक्तिहरुले काम गर्न भने दिएका छैनन् । यो त हामी सबैलाई थाहा भएकै कुरो हो । यस विषयमा भनि राख्नु त्यति उपयुक्त नहोला ।

जब मानिसले आफू भित्र भएको नैतिकता गुमाउन पुग्दछ तब भ्रष्टचार मौलाउदै जान्छ । भ्रष्टचार मौलाउनु भनेको इमानदारीता गुमाउनु हो । जससम्म मुलुकबाट भ्रष्टचारीहरु निर्मुल हुँदैन तबसम्म यो देशमा सच्चा र इमानदारी नेता भेटाउन गाह्रो छ । प्रतिनिधि सभा होस् या त आम सभामा ठूला ठूला स्वरमा जति नै भाषण गरेपनि ती बोलेका कुरा व्यवहारमा उर्तारिँदैन भने त्यस्ता नेतालाई मान्नु पर्ने कुनै तुक छैन । जनता पनि त्यस्ता आडम्बरी भाषणबाट सचेत हुन जरुरी छ । दिन प्रतिदिन मौसमले चुनौति दिँदैछ ।

वर्षायाम लाग्न थालिसकेको छ तर त्यतातिर सम्बन्धित निकायलाई कुनै चासो छैन । जब एक्कासी बाढी पैरो जान्छ, जनधनको नास हुन्छ तब मात्र तातिते संस्कार छ यहाँ । साँच्चै नै भन्नु पर्दा हाम्रो देशमा दुरदर्शी नेताको कमी छ । यदि जनताप्रेमी, राष्ट्रप्रेमी र मानवतावादी नेता भइदिएको भए आज यहाँका जनताको जीवनयापन सुखी खुशी हुन्थ्यो होला तर आज एक जना व्यक्तिको मुहारमा समेत खुशी छाएको छैन । यसैबाट पनि थाहा हुन्छ ।

हाम्रो देशको नेताहरुको हृदयमा जनता र देशप्रति कति इमानदारीता, नैतिकता र कर्तब्यनिष्टता छ भन्ने । यो देशमा एउटा काण्ड नसकिँदै अर्को काण्ड मच्चिहाल्छ । त्यही काण्डमा नेताहरु एकले अर्कालाई दोषारोपण गर्दै दिन बिताइरहेका हुन्छन् । नेताहरुको गतिविधि हेर्दा विरक्त लागेर आउँछ । नेताहरुले उब्जाएको काण्डैकाण्डले संसद भवन मात्र होइन देशलाई डुङ्डुङती गन्हाउने फोहोरी बनाइसकेका छन् तर सुध्रिने कहिले हो थाहा छैन् ।

नाबालिका निर्मला पन्तमाथि घटना घटाउने अपराधीहरुलाई आजसम्म पनि फेला पार्न सकेका छैनन् । संसद भवन र जनतामाँझ ठूला कुरा गरेर के काम सांसदहरुको । अझै यिनै लाज पचाएका सांसदहरु ठूला ठूला कुरा गरेर जनतालाई दिग्भ्रमित पारेर हिंडेको देख्दा टिठ लागेर आउँछ । जनताले भोट दिएर सम्बन्धित ठाउँमा पुराउँदा पनि जनतालाई न्याय दिन सक्दैन भने त्यस्ता नेताहरुको औचित्य के त भन्ने प्रश्न चिह्न खडा भइरहेको छ । त्यस्ता नेताहरुको घैंटोमा घाम कहिले लाग्ने हो त्यो दिन भने हेर्न बाँकी छ ।

साँच्चै नै जनतापे्रमी, राष्ट्रप्रेमी नेता हो भनेर आफूलाई चिनाउँदै गर्दा आफूभित्र देश र जनताप्रति नैतिकता र इमानदारीता छ कि छैन भनेर सबै दलका नेताहरुले आफैले आफैलाई सोध्नु पर्ने समय आएको छ । साथै देशको बागडोर समाल्ने नेतामात्र नभई स्वयम् नागरिक पनि आफू को हुँ र मेरो देश र जनताप्रतिको जिम्मेवारी र कर्तब्य के हो भन्ने कुरा बुझ्नु पर्दछ ।

जबसम्म हामीले सहि र गलतलाई छुट्याउन सक्दैनौं तबसम्म हामी यस्तै औचित्यहीन नेताहरुको पछि लागेर हामीले हाम्रो भविष्य त बिगार्र्यौं । आउने दिनमा हाम्रा सन्ततीको भाग्य र भविष्य नै अन्धकारमय बनाउनेछौं । त्यसकारण हामीभित्र नैतिकता र इमानदारीता भन्ने चिजलाई बचाई राख्न सक्यौं भने मात्र सबै समस्याहरु आफै हट्दै जाने छन् ।