भारतीय जनता पार्टीले सावरकरको नाम आदरसाथ लिने गर्छ भने भारतीय कङ्ग्रेसलगायत अन्य दलहरूले सावरकरलाई गान्धी हत्याको योजनाकारका रूपमा आरोपित गरेको पाइन्छ । सावरकर उच्च कोटीका विद्वान्, कवि, क्रान्तिकारी र समाज सुधारक हुन् ।
सन् १९०६ मा बेलायतमा सावरकरको भेट गान्धीसँग भएको थियो । उनले गान्धीलाई पाउन् (माछा) खान आग्रह गर्दा गान्धीले आफू शाकाहारी भएको भन्दै सावरकरको आग्रहलाई इन्कार गरेका थिए । सावरकरले गान्धीको विचारलाई प्रतिवाद गर्दै अंग्रेजसँग भिडन्त गर्न शाकाहारीभन्दा मांसहारी बढी उपयोगी हुने तर्क दिए । यसको प्रतिकात्मक अर्थ छ ।
क्रान्तिकारीका रूपमा सावरकरले ‘इन्डियन वार अफ इन्डिपेन्डेस’ लेखेका थिए । किताब प्रकाशित हुनुभन्दा पहिले नै पाण्डुलिपिलाई बरामद गर्दै सावरकरलाई अंग्रेजले बन्दी बनाई बेलायतबाट भारत चलान गरेका थिए । पानीजहाजको यात्राका क्रममा सावरकरले समुद्रमा नै हामफाले ।
दुर्भाग्यवस सामुद्रिक किनाराबाट उनलाई गिरफ्तार गरियो । तत्पश्चात् सावरकरलाई ‘अन्डोमान निकोवार’स्थित कालापानीको कारागारमा २५ वर्षका लागि बन्दी बनाइयो । कालापानीको कारागारमा बन्दीहरूलाई गोरुका रूपमा प्रयोग गरेर खानेतेल निकाल्ने प्रचलन थियो ।
अर्थात् क्रूरता र बर्बरताका लागि कालापानी जेलले मानवीय मूल्य मान्यताका हरेक सीमालाई पार गरेको थियो । सावरकरले जेलको पर्खालमा भारतीय स्वतन्त्रताका लागि कविता र गीत लेख्ने गर्थे र कैदीहरूलाई कविताको राप र तापबाट क्रान्तिका लागि तयार गर्ने गर्थे ।
अंग्रेज उत्पादित वस्त्रलाई आगो लगाएर विदेशी लुगा बहिष्कार गर्ने सावकर नै पहिलो नेता थिए । सावरकरको कृति ‘हिन्दूत्व’ र गान्धीको कृति ‘हिन्दू स्वराज’ मा तात्विक अन्तर र मतभेद रहेको छ । गान्धीले हिन्दू र मुसलमानबीच भाइचाराको सम्बन्धमा अधिक जोड दिएका छन् भने सावरकरले हिन्दूत्वलाई संस्कारका रूपमा व्याख्या गरेका छन् ।
अर्थात् हरेक भारतीयले भारतलाई पुण्यभूमिका रूपमा स्वीकार गर्नुपर्ने सावरकरको आग्रह छ । मुसलमानले मक्का, मदिनालाई पुण्यभूमि मानेको खण्डमा र क्रिस्चियनहरूले रोमलाई पुण्यभूमि मानेको खण्डमा भारतप्रति त्यसको निष्ठा नरहने सावरकरको तर्क रहेको थियो । गान्धी वर्ण व्यवस्थाको समर्थक थिए भने सावरकर वर्ण व्यवस्थालाई पूर्ण रूपमा निर्मूल पार्न चाहन्थे ।
हिन्दू धर्मभित्र कुनै पनि जातीय खाडल हुनुहुँदैन भन्ने सावरकरको आग्रह थियो । छुवाछूतविरुद्ध उनले दलितहरूलाई मन्दिर प्रवेश गराउन अभियान नै चलाएका थिए । कविताका माध्यमबाट समाजमा क्रान्तिको शंखनाद गर्ने सावरकर नै थिए ।
उनको कविता ‘बाल विधवा’ अधिक चर्चामा रहेको छ । सावरकरको व्यक्तित्व, कृतित्व र कवित्वका ’boutमा उनका जीवनीकार विक्रम सामवादले आफ्नो पुस्तकमा सुन्दर चर्चा गरेका छन् ।
वास्तवमा सावरकरले हिन्दूत्वका लागि नयाँ विमर्शको सुरुवात गरे । सावरकरको नेतृत्वपश्चात् हिन्दू महासभाको नेतृत्व डा. श्यामप्रसाद मुखर्जीले लिए । डा. मुखर्जी अद्वितीय विद्वान् थिए ।
बेलायतबाट विद्यावारिधि गरेका डा. मुखर्जी ३३ वर्षको उमेर कलकत्ता विश्वविद्यालयको उपकुलपति भएका थिए । बंगाल विभाजनको कटु आलोचक मुखर्जीलाई अद्भूत वक्ताका रूपमा चित्रित गरिन्छ । उनलाई भारतीय संसद् भवनको ‘सिंह’ पनि भनिन्छ । डा. मुखर्जी ‘नेहरू लियाकत’ सम्झौताको कट्टर विरोधी हुनुका साथै नेहरूको काश्मीर नीतिका आलोचक थिए ।
एक देशमा एक विधान, एक निशान र एक प्रधान मात्र हुनुपर्छ’ भन्ने उनको आग्रह थियो । तत्कालीन काश्मीरको कानुनलाई तोड्दै उनले काश्मीर प्रवेश गरेर आफ्नो गिरफ्तारी दिएका थिए । धारा ३७० को खोरर्जी माग डा. मुखर्जीले गरेका थिए ।
उनको मृत्यु बडो रहस्यमय अवस्थामा बन्दीगृहमा नै भयो । सन् १९५१ अक्टुबरमा हिन्दू महासभा र राष्ट्रिय स्वयंसेवक संघको संयुक्त समझदारीमा जनसंघको निर्माण भयो । अर्थात् हिन्दूवादको आधारस्तम्भमा राजनीतिक पार्टीको जन्म भयो । जनसंघको अध्यक्षता डा. मुखर्जीले गरे ।
स्मरणीय रहोस्, राष्ट्रिय स्वयंसेवक संघ गैरराजनीतिक संगठन थियो । व्यक्तित्व विकास, वैद्विक संस्कारको अनुसरण, चरित्र निर्माण, वैचारिक स्पष्टता, नविनता र प्राचीनताको संगमले संगठन निर्माण गरेका थिए । जनसंघ र स्वयंसेवक संघबीच सहकार्य थियो । जनसंघका नेतृत्व गुरू ग्वालवालकरले गरेका थिए ।
कृति ‘आवर नेसन हुड डिफाइनड’ र ‘बन्च अफ थट’का माध्यमबाट राष्ट्रलाई दिग्दर्शन दिने काम संघ सञ्चालक ग्वालवालकरले गरेका थिए । प्राचीन साहित्य र दर्शनका ज्ञाता ग्वालवालकारलाई गुरुजीको नामले आदर साथ लिइन्छ । गुरुजीले जनसंघलाई हिन्दू धर्मअनुसार शासन पद्वतिलाई अगाडि बढाउन दार्शनिक आधार दिएका थिए ।
डा. शयामप्रसाद मुखर्जीको रहस्मय मृत्यु उपरान्त जनसंघको बागडोर पण्डित दिनदयाल उपाध्यायले सम्हालेका थिए । अटलविहारी वाजपेयी डा. मुखर्जीको सचिवका रूपमा थिए । वाजपेयीले युवा नेताका रूपमा आफूलाई स्थापित गरिसकेका थिए ।
लालकृष्ण आडवाणी किशोर अवस्थादेखि नै स्वयंसेवक संघमा सक्रिय थिए । दिनदयाल उपाध्याय भारतीय राजनीतिका लागि एउटा घटना थियो । उनले एउटा नयाँ राजनीतिक प्रस्तावना वा रजानीतिक सिद्धान्तको आधारशीला दिए । दिनदयालको प्रस्तावना नै ‘एकात्मक मानववाद’ थियो ।
एकात्मक मानववादले पुँजीवाद र साम्यवादको प्रस्तावनालाई खारेज गर्छ । पुँजीवाद र साम्यवादले मानवलाई वस्तुवादीका रूपमा चित्रित गर्छ । पुँजीवाद र साम्यवाद चाहिँ सम्राज्यवाद, उद्यौगीकरण र पश्चिमा संस्कारको मानशपुत्र भएको जिकिर दिनदयाल उपाध्यायको रहेको छ ।
अर्को शब्दमा भन्ने हो भने दिनदयालले एकात्मक मानवतावादबाट मानवको सम्पूर्ण विकासको प्रस्तावना अगाडि सारेको देखिन्छ । ‘अन्तोदय’ यसको मौलिक सूत्र हो र समाजको सबभन्दा प्रताडित र पीडित वर्गलाई मानसपटलमा राखेर राज्यले कुनै पनि योजना बनाउनुपर्छ भन्ने तर्क एकात्मक मानववादको रहेको छ ।
शासनमा शुद्धता, नेतृत्वमा योग्यता, नियममा प्रस्टता र दृष्टिकोणमा व्यापकता रहेको खण्डमा व्यक्ति नरबाट नारायणमा परिमार्जित हुनसक्ने तर्क दिनदयालको रहेको छ । दार्शनिक हिसाबले दिनदयाल उपाध्याय अब्वल थिए । दिनदयाल उपाध्यायको मृत्यु पनि मुगलसराई भन्ने ठाउँमा रहस्मय ढंगले भएको थियो ।
वाजपेयीले डा. मुखर्जी र दिनदयालको मृत्युलाई बडो काव्यास्मय ढंगले चित्रित गरेका छन् । अर्थात् जनसंघको जीवनलाई रेल र जेलले आघात गरेको कुरा उनले व्यक्त गरेका छन् । डा. मुखर्जी र दिनदयालको युगपश्चात् जनसंघ कालान्तरमा जेपी आन्दोलनपश्चात् भारतीय जनता पार्टीका रूपमा परिवर्तित भयो ।
लालकृष्ण आडवाणीले आफ्नो पुस्तक ‘माई कन्टरी, माई लाइफ’मा भारतीय जनता पार्टीको संगठनात्मक विकास र चुनौतीका सुन्दर चर्चा गरेका छन् ।
वाजपेयी र आडवाणीपश्चात् बीजेपीको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्रहण गरेका छन् । सावरकरको जन्मदिनको अवसरमा संसद् भवनको उद्घाटन गर्नु अर्थपूर्ण रहेको छ ।
हिन्दूत्व भाष्यलाई परिमार्जित र परिष्कृत गर्दै भारतलाई नयाँ आर्थिक उचाइमा लग्ने बीजेपीको अनुष्ठान रहेको छ ।