• मंसिर ११ २०८१, मंगलवार

अथार मगर कलाकारले स्थापना गरेको अक्षय कोषको मन्त्री किरातीले गरे उद्घाटन

जेष्ठ २० २०८०, शनिबार

काठमाडौं । अथार मगरात कलाकार संघको आयोजनामा ‘अक्षय कोष समुद्घाटन, सम्मान तथा मौलिक सांस्कृतिक कार्यक्रम’ शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री माननीय सुदन किरातीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा अथार मगरात कलाकार संघकी संरक्षक तथा संस्कृतिविद बमकुमारी बुढामगर, अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोकामगर, अथार मगरात मगर प्रतिष्ठानका अध्यक्ष झबिन्द्र पुनमगर र नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरसँगै अन्य संघ संस्थाहरुका प्रतिनिधित्व गर्दै अतिथिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष किरणबाबु पुनले अक्षय कोषको विषयमा प्रष्ट पार्दै आगामी दिनमा अथार मगरात क्षेत्रका संस्कृतिको विषयमा खोज अनुसन्धान गर्ने कुरामा सरकारी तहबाट सहयोगको अपेक्षा व्यक्त गरेका छन् ।

मन्त्री किरतीलाई अथार मगरात कलाकार संघको तर्फबाट मगर पोषाक उपहार दिएर सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री किरतीले अथार मगरात कलाकार संघलाई शुभकामना तथा बधाई दिँदै सम्पूर्ण मगरहरू एकजुट हुन आग्रह समेत गरे ।

उनले आफू संस्कृति मन्त्री भएका कारण कलाकारहरुसँग र विशेष गरी अथार मगरात कलाकारसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । दश लाख एघार हजार एक सय एघार रुपैयाँबाट सुरु भएको अक्षय कोष स्थापनाको उद्घाटन गर्न पाउँदा आफू खुसी रहेको बताउँदै मन्त्री किरातीले आफूले पनि व्यक्तिगत रुपमा २५ हजार सहयोग गर्ने घोषणा समेत गरे । पुर्खाको इतिहासलाई सम्झिँदै देशमा भएका हरेक परिवर्तनमा मगर समुदायको मुख्य भूमिका रहेको समेत मन्त्री किरातीले बताए ।

कार्यक्रममा बोल्दै आफूले पदभार ग्रहण गरेका दिन पोखरामा जहाज दुर्घटना भएको कारण त्यही दिनलाई खुशियालीको रुपमा लिन नसकेको र खादा माला नलगाउनुको कारण समेत प्रष्ट्याए । कार्यक्रममा पैंसारु र भूमे लगायतका मौलिक नृत्यसँगै मौलिक लोकगीतहरू प्रस्तुत गरिएको थियो ।

अथार मगरात क्षेत्रलाई प्रतिनिधित्व गर्दै निजामती कर्मचारी बनेका शाखा अधिकृत भन्दा माथिका कर्मचारी, अग्रज पत्रकार, कलाकार तथा स्रष्टा सर्जक, पूर्व सांसद लगायत मगर समुदायको हकहित, पहिचान र उत्थानको निमित्त योगदान दिने विभिन्न संघ संस्थाका अगुवाहरूलाई सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र संस्कृतिविद तथा संघका संरक्षक बमकुमारी बुढामगरको भिडियो वृत्तचित्र तयार पारेर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष नन्द घर्तीमगरले स्वागत मन्तव्य राखेका थिए भने महासचिव खड्गबहादुर पुन मगर खबपुले कार्यक्रमको सञ्चालन गरेका हुन् ।