जनकपुरधाम । आज चैत्रशुक्ल नवमी अर्थात् रामनवमी । जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन् ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । सोही सम्झनामा आजको दिन ‘रामनवमी’ मनाइन्छ ।
राम नवमीको अवसरमा आज बिहानैदेखि राम मन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौँको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् ।
आजको दिन देशभरि रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी राम गीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत-रामायण वाचन गर्नुका साथै भगवान् रामको पूजा आराधना गरी रात भरी भजन कीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ ।
राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरी संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेका थिए ।
यो पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान् रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा गरिन्छ ।