• आश्विन १९ २०८१, शनिबार

पारिवारिक विग्रहमा अव्यवहारिक शिक्षा

चैत्र १२ २०७९, आईतवार

अहिले गाउँघरहरू पढे लेखेको युवाहरू बस्दैनन् । उनीहरूले पढेको शिक्षाले उनीहरूलाई घर परिवारबाट टढायो । विश्वविद्यालयसम्मको अध्ययन गरेर पनि शिक्षितहरूलाई स्वदेशमा रोजगारको अवसर नहुँदा उनीहरूलाई घर परिवार र देशबाट नै टाढिनु परेको छ ।

हाम्रो शिक्षाले शिक्षितहरूलाई स्वदेशमा टिकाउन सकेन । कुनै पनि काममा बिकाउन सकेन । राज्यले ठूलो लगानी गरेर चलाएका शैक्षिक संस्थाहरूले अन्तराष्ट्रिय बजारका कामदारहरू मात्र उत्पादन गर्ने कारखाना जस्ता भएका छन् ।

जानिफकारहरू भन्छन्, ‘अहिलेको शिक्षाले अभिभावकहरूको बढेसकालको साहारा खोसी दिएको छ । मानसिक वेचैनी बढाइदिएको छ । गाउँघरहरू रित्याइदिएको छ ।’ शिक्षाले व्यक्ति, समाज र देशलाई दिशा निर्देश गर्ने उर्जा हो ।

देशका हरेक क्षेत्रमा काम गर्न योग्य जनशक्ति निर्माण गर्ने माध्यम हो । व्यक्ति र समाजको आर्थिक समृद्धिको आधार हो । शिक्षाले यो आधारलाई भरपर्दो बनाउन नसक्दा समाजमा अनेक समस्याहरू सिर्जना भएका छन् ।

राज्यले नागरिकहरूलाइ दिएको शिक्षा र यसबाट उत्पादित शिक्षितवर्ग आत्म निर्भर बन्न सकेन । विश्व विद्यालयसम्मको अध्ययनले आफ्नो खुट्टामा उभिन सक्ने, आफै उद्यमी हुने र स्वरोजगारको ढोका खोल्ने सीप प्रदान गर्न सकेन ।

देशले युवाशक्तिलाई विकास निर्माणमा लगाउन सकन । देशको शिक्षा प्रणालीकै कारण अभिभावकहरूले पढेलेखेका छोराछारीहरूबाट टाढा भएर बस्नु पर्ने वाध्यात्मक परिस्थितिको सिर्जना भएको छ ।

राज्यले शिक्षित जनशक्तिलाई आफ्नै गाउँ ठाउँमा रोक्ने हो भने देशका विद्यालयतहदेखि विश्वविद्यालयसम्मको शिक्षालाई रूपान्तरण गर्न अनिवार्य छ । भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र, शिक्षाशास्त्र, दर्शनशस्त्र वा समाजशास्त्रका सैद्धान्ति बिषयबस्तुको अध्ययन अध्यापनले शिक्षितलाई शास्त्रको ज्ञान दियो, गरी खाने बनाउन सकेन ।

शिक्षा घोकन्ते भयो । रटन्ते भयो । घोकन्ते र रटन्ते विद्यामा सिर्जना हुँदैन । मौलिकताले ठाउँ पाउँदैन । नयाँ चिन्तनको विकास हुँदैन । पेसागत सीप हुँदैन । यस्तै भईरहेको छ । त्यसैले हाम्रो जस्तो कृषि प्रधान देशमा राज्यले कृषि शिक्षालाई प्रथमिकता दिनु पर्दथ्यो । दिएन ।

आधुनिक खेति, पशुपंछी पालन, फलफूल खेति, तरकारी खेती, माछा पालन, माहुरी पालन जस्ता पेसागत ज्ञान तथा सीप प्रदान गर्नु पर्दथ्यो । गरेन । पुस्तौली पेसालाई आधुनिकीकरण, यान्त्रीकीकरण, व्यबसायीकरण र बजारीकरण गर्नसर्ने प्रयोगात्मक शिक्षा प्रणाली गरेन ।

शिक्षालाई वैज्ञानिक, प्रयोगात्मक र सिर्जनसील बनाउन पर्दथ्यो । बनाएन । त्यसैले शिक्षत युवाहरू विदेश पलायन भए ।

युवाहरूदेशका पूँजी हुन् । परिवर्तनका संवाहक हुन् । विकासका आधार हुन् । समाजलाई व्युझाउन, उठाउन र हिंडाउन सक्ने विचार, जोस र होस् भएका मानव स्रोत हुन् । यिनीहरूलाई स्वदेसमा नै टिकाउनु पर्दछ ।

यसको लागि रोजगारमुलक शिक्षा अनिवार्य हुन्छ । हाम्रा गाउँघरहरमा उपलब्ध प्राकृतिक स्रोत, साधन, र सम्पदाहरूको अनुसन्धान, उत्खनन, उत्पादन र उपयोग गर्न सक्ने गुणस्तरीय शिक्षा आजको आवश्यकता हो । शिक्षितहरूलाई स्वदेशमा रोक्ने उपाय हो ।

तसर्थ राज्यले किन्तु, परन्तु केही नभनीकन शिक्षालाई रोजगारमुलक बनाओस् । यसका लागि तदअनुरूपको शिक्षानीति, पाठ्यक्रम निर्माण, पाठ्यपुस्तकमा विषयवस्तुको चयन, शिक्षण सिकाई र प्रयोगात्मक अभ्यास गर्ने र गराउने काम गर्न अनिवार्य हुन्छ। शिक्षितहरूले अभिभावकहरूसंगै बसी आफ्नै गाउँ ठाउँमा आयआर्जन गर्न सक्षम बन्न सकून् ।