देशको इतिहास र वर्तमानको गौरवमय अनुभूति गर्न सक्नु नै देश प्रेम हो । देशको उज्वल भविष्यको लागि सकारात्मक कर्म गर्नु भनेकै देशलाई शिरमा राखेर कर्म गर्नु हो । यस सन्दर्भमा हरेक नेपालीले देशलाई सबै भन्दा माथि राखेर त्यस पछि मात्र जात, जाति, धर्म, भाषा, संस्कृति, राजनिति आदि इत्यादिको कुरा गर्नुपर्दछ । उल्लेखित सबै कुराहरू देशभित्रका अवयवहरू हुन् । उल्लेखित सबै कुराभन्दा माथि देश हुन्छ ।
देशको माया सिद्धान्त होइन, व्यवहार हो । आदर्श होइन, यथार्थ हो । जन्मभूमि प्रतिको कर्तव्यबोध हो । नाट्यसम्राट वालकृष्ण समले देशभक्ति त मर्दैन चुत्थै देश भए पनि भनेका छन् । देश जति गरिव, पछौटे वा समस्याग्रस्त भए तापनि देशको माटोको सुगन्धले तानिरहने भावनात्मक नाता नै देश भक्ति हो । देशलाई माया गर्ने व्यक्तिले मलाई देशले के दियो भन्ने कुरा सोच्दैन, बरु मैले मातृभूमिका लागि के योगदान दिन सके भन्ने एंगलबाट सोच्छ । तदनुरूप कार्य गर्छ ।
भगवान् रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेपछि उनका भाइ लक्ष्मणले लंकाका राजा हुन अनुरोध गर्दा उनले ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसि’ भनेका थिए । जन्मभूमि र जन्मदिने आमा स्वर्गभन्दा पनि ठूला हुन्छन् भनेर जन्मभूमिमा फर्किएका थिए । सबैको हितमा काम गरेका थिए । त्यसैले आज पनि राम राज्य भन्ने गरिन्छ ।
हाम्रो देशमा दोस्रो जनआन्दोलन २०६२-६३ पछाडि समाजमा राजनीतिक फाइदाका लागि दलहरूले समाजलाई जातीयता, साम्प्रदायिकता, क्षेत्रलगायतका नारा उछालेर जनतालाई आफ्नो राजनीतिक कित्तामा पार्ने काम भयो । दुःखका साथ भन्नु पर्छ कि कतिपय राजनीतिक दलहरूले हाम्रो गौरवशाली इतिहास र समृद्धशाली संस्कृतिमा गर्व गर्दैनन् ।
विगतमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा थुक्ने र भत्काउने दुष्कर्म भयो । देशको भाषा, सभ्यता र संस्कृतिमाथि अतिक्रमण भइरहेको अवस्था छ । हामी हाम्रो देशको गौरवशाली इतिहास र समृद्धसाली संस्कृतिका प्रतिनिधी हौं । त्यसैले यसको संरक्षण एवं विकास गर्ने हामी सबैको साझा दायित्व हो । देशको इतिहास र संस्कृतिप्रति गर्व गर्न नसक्नेहरूमा देशभक्ति हुँदैन ।
विगत तीन दशकमा नेपाली समाज राजनीतिक कित्तामा खण्ड खण्ड भयो । बाँडियो । अर्थात राजनीतिक दलहरूले बाँड्ने र भाँड्ने काम गरे । हामीहरू नेपाली हुनुभन्दा बढी राजनीतिक दलका मान्छे भयाैं । हामीले प्रजातान्त्रिक व्यवस्थाका लागि लामो संघर्ष गर्यौं । राजनीतिक व्यवस्था परिवर्तन भयो । तर, एकजुट भएर राजनीतिक विसंगतिविरुद्धमा जरुक्क उठ्न सकेनौं ।
हामीहरू कुनै जात, वर्ग, राजनीतिक दलको नेता वा कार्यकर्ता हुनुभन्दा पहिले नेपाली हौं । सार्वभौम देशका नागरिक हौं । देश सबैभन्दा माथि हुन्छ भन्ने कुरा बुझेनौं कि ? देश विकास गर्न अब राजनीतिक लडाइँ गर्न जरुरी छैन । त्यसैले सबै एकजुट भएर सुशासन र आर्थिक विकासका लागि अगाडि बढौं । सामाजिक सद्भाव कायम राखाैं । देशका लागि आआफ्नो ठाउँबाट योगदान गरौं ।
नेपाल आमाको कल्याण हुनु नै नेपाली समाज र हामी सबैको कल्याण हुनु हो । नेपाल आमालाई उनका सन्तानलाई चोट पु¥याउने काम कोही कसैबाट हुनुहुँदैन । कवि महेन्द्रले आमाको पुकार शीर्षकको कवितामा ‘गर्छिन पुकार आमा राई कराई जोडले, सक्तिनँ सहन भन्छिन् सन्तान थरिथरिका’ भनेका छन् । यसको अर्थ आफ्नाे व्यक्तिगत वा राजनीतिक फाइदाका लागि देशलाई चोट पुर्याउने काम कुनै पनि व्यक्ति, समूह वा राजनीतिक दलले गर्नुहुँदैन ।
देशको अहित हुने काम गर्नु भनेको मातृभूमिलाई चोट पुर्याउनु हो । देशप्रति घात गर्नु हो । यस्तो काम नेपाल आमाले सहन सक्दिनन् भनेको हो । देश सबै विचार र विविध आयामभन्दा माथि हुन्छ । त्यसैले व्यक्ति वा दलगत स्वार्थका लागि देशलाई बाधा पुर्याउने हरेक राजनीतिक दर्शन, विचार र अभ्यासलाई सामूहिक नागरिक दबाबबाट निस्तेज पार्नु सच्चा नागरिकको कर्तव्य हो । यसै गरौं ।
हाम्रोजस्तो सानो मुलुकमा साना ठूला गरी सयांैको संख्यामा राजनीतिक दल छन् । यी दलसँग थोरै वा धेरै मानिस बाँडिएका छन् । त्यसो त लोकतान्त्रिक मुलुकमा राजनीतिक विभाजनलाई अस्वभाविक ठानिंदैन । तथापि, राजनीतिक आस्थाकै लागि भाइ फुटे गवार लुटे भन्ने लोकोक्ति चरितार्थ गर्नु हुँदैन ।
जसरी नेपाली समाज सदियौंदेखि विविधतामा एकताको डोरीले बाँधिएर आएको छ, त्यसरी नै कुनै राजनीतिक विस्वास र आस्थाका आधारमा नेपाली दाजुभाइ तथा दिदीबहिनीबीच झाँगिएको आपसी सबन्ध बिगार्नुहुँदैन ।
अब आर्थिक विकास र नागरिक समृद्घिका लागि लडाइँ गर्नुपर्ने बखत आएको छ । लोकतन्त्रको विकल्प सुधारिएको लोकतन्त्र नै हो । लोकतन्त्रको मर्म र राष्ट्रियताको भावनाको कदर गर्न सक्ने राजनेता र अनुशासित समाज आजको आवश्यकता हो । तसर्थ, हामीहरू एकजुट भएर देश निर्माणको साझा उद्देश्यका लागि जुट्न ढिला नगरौं ।
हरेक नेपालीहरूले जातीय र क्षेत्रीय विभेदको होइन, राष्ट्रिय पहिचानको कुरा गरौं । समान अवसरको कुरा गरौं । भाषा, जात वा क्षेत्रको होइन, मेलमिलापको कुरा गरौं । सहिष्णुतापूर्ण व्यवहार गरौं । माहुरीजस्तै मिलेर कर्मशील भई नेपाल र नेपालीको उत्थान हुने काम गराैं ।
आज युरोप र अमेरिकाका देश विकसित छन् । नागरिक समृद्घ छन् । युरोप र अमेरिका मात्र होइन, एसियाका कतिपय मुलुक दक्षिण कोरिया, जापान, मलेसिया, सिंगापुर, यूएई, चीनलगायतका देश पनि विकसित भइसकेको अवस्था छ । यसो हुनुको पछाडि त्यहाँका नागरिकको देश प्रेमको भावना, मेलमिलाप अनि मिहिनतले काम गरेको छ ।
त्यहाँको नेतृत्व इमानदार भएर काम गरेकाले भौतिक विकास र आर्थिक समृद्धि भएको हो । अब हामीलाई विकास चाहिएको छ । सुशासन चाहिएको छ । यसका लागि सामाजिक एकता तथा सचेत समाजको खाँचो हुन्छ । सचेत समाज राजनीतिक विसंतिविरुद्धमा एकजुट भएर उठ्न सक्छ । राज्य र यसका संयन्त्रलाई मार्गनिर्देश गर्न सक्छ ।
शान्ति र विकासका लागि मुलुकमा रहेका भिन्न भाषा, जाति, धर्म, पेसा, संस्कृति, संस्कार, चलन तथा प्रचलन भएका समुदायबीच आपसी सद्भाव, प्रेम, सहयोग र सहिष्णुता अभ्यास आजको आवश्यकता हो । एकआपसमा मिलेर देशको हितमा काम गर्ने अभ्यास नै देशप्रेम भएकाले हरेक व्यक्तिले आफ्नो हितभन्दा राष्ट्रको हितप्रति समर्पित भएर काम गर्नुपर्छ ।
हरेक मानिसमा देशको माया भएमा सामाजिक मेलमिलाप र आपसी समझदारीको विकास हुन्छ । सहअस्तित्वको स्वीकारोक्ति हुन्छ । व्यक्तिमा व्यक्तिगत हितभन्दा मुलुकको हितप्रति सजग र सतर्क हुने आचरणको विकास हुन्छ । सामाजिक सामन्जस्यता र आपसी अन्तरघुलनका साथै सहअस्तित्वको स्वीकारोक्ति गर्न सक्ने अभ्यासको प्रयोग हुन्छ ।