‘नेतृत्वको चयन समाजको चेतना अनुसार नै हुने गर्दछ’ । हाम्रो देशको सन्दर्भमा हेर्दा उक्त भनाइ सार्थक देखिन्छ । अहिले शहरी क्षेत्रका मतदाताहरुमा ठीक र बेठीक छुट्याउन सक्ने क्षमताको विकास भएको देखिन्छ । तथापि आम मतदाताहरुको राजनीतिक दलहरुसंगको मायाजाल अत्यन्त गहिरो छ । यो मायाजालले देश बर्बाद बनाएको छ । नेपाली समाजको विडम्बना के छ भने सबैले परिवर्तन चाहन्छन् । विकास चाहन्छन् ।
राज्यका अत्यन्तै गैरजिम्मेवार कार्यको विरुद्धमा आवाज बुलन्द पनि पारेको सुनिन्छ । तर जब निर्वाचन आउँछ अनि उनै असक्षम एवम् भ्रष्टहरुलाई मत दिन्छन् । विगत तीन दशकदेखि उही असफल नेतृत्व, उही भ्रष्ट व्यक्ति वा विदेसीको इसारामा नाच्ने कठपुतली नेतालाई सत्तामा पुराएको इतिहास छ । त्यसो त नेपाली जनताले कहिले नेपाली कांग्रेस, कहिले, एमाले र कहिले माओवादीलाई मतदानगरी पालैपालो सत्तामा पुराएको इतिहास छ ।
यिनीहरु सबै ‘जुन जोगी आए पनि कानै चिरेका’ जस्ता प्रमाणित भए । बृद्ध नेताहरु दलको शीर्ष स्थानमा भएकोले राजनीतिमा पनि पुरानो कार्यशैली रह्यो । प्रजातन्त्रको लागि लामो संघर्ष गरेका पुराना दलका नेताहरु अहिले व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा र पैसाको लागि भिडन्त गरिरहे । जनताले केही व्यक्तिको सत्ताको संघर्षका समाचार, गठजोड, भ्रष्टाचार, ढुकुटीको दोहन, बाहेक विकास, समृद्घि र विधिको शासनका कुरा सुन्न, देख्न र अनुभव गर्न पाएका छैनन् । देश र जनताको पक्षमा काम गर्ने दृष्टिकोण नै नभएका नेतागण र दास मनोवृत्ति भएका कार्यकर्ताका कारण मुलुक राजनीति दुष्कर्मको भुमरीका रुमलिइरहेको छ । देशलाई माया गर्ने सचेत नागरिकहरुको मन शिशा झैं चर्किएको छ ।
आधा दर्जनको संख्याका नेताहरुको कुबुद्धिका कारण नेपालीहरुले दुःख पाइरहेका छन् । तसर्थ मतदाताले भ्रष्ट, असक्षम र पिडक राजनीतिक कर्मीहरुलाई पाखा लगाउन अवसर आएको छ । यसै गरांै । बिहानीले दिउँसोको संकेत गर्दछ भनेझैं गणतन्त्रका १६ वर्षमा अहिलेको नेतृत्वले गरेका काम र यिनीहरुको क्षमताले भविष्यको प्रष्ट संकेत गर्दछ । हरेक पटक बन्ने सरकारहरु अनेक प्रकरणमा मुछिने गरेको इतिहास साक्षी छ । २०७४ सालको आम निर्वाचनमा पछाडि मतदाताहरुको अब त केही हुन्छ कि भन्ने अपेक्षा थियो । परन्तु, जन चाहनामा तुषारापात भयो ।
राजनीतिक दलहरुमा तिक्तता, कुण्ठा, इष्र्या, आडम्बर, आग्रह, पूर्वाग्रह, गुट, फुट, विभाजन, भ्रष्टाचार, कमिसन, परिवारवादहुँदै विदेशीको इसारामा नाच्ने कठपुतलीको भूमिका रही कुशासक बन्ने बाहेक देश र जनताको लागि काम गरेको देखिंदैन । यिनीहरुले देशको शिक्षा, स्वास्थ्य, प्रशासन, बाटाघाटा लगायतका हरेक क्षेत्रहरु थलालिङ्ग बनाएका छन् । महङ्गीले आकाश छोएको छ ।
यही हो लोकतान्त्रिक भनिने सरकारले गर्ने कार्य ? लोकलाज हुँदैन ? देशको माया छैन ? जनतालाई खिसीट्युरी गर्ने ? अनि मतदाताहरुले यस्तो नेतृत्वलाई फेरि मतदान गरेर देशलाई अझै बिगार्ने ? हरेक नागरिकले साेंच्ने बेला आएको छ । यो देशको विडम्बना के छ भने ठूलो संख्यामा नागरिकहरु स्वतन्त्र छैनन् । राजनीतिक दलहरुका भ्रातृ सङ्घ– सङ्गठनहरु देशव्यापी रुपमा सङ्गठित छन् ।
शिक्षक, प्राध्यापक, कर्मचारी, डाक्टर, वकिल, नागरिक समाज, बुद्धिजीवी, व्यापारी, व्यवसायी लगायतका नागरिकहरु कुनै न कुनै दलमा आस्था राख्दछन् । समाजको पढे–लेखेका, जाने बुझेको तप्का पनि दलहरुसँगको मायाजालमा फसेको देखिन्छ । यिनीहरुको मायाजालले गुण र दोषको आधारमा दलहरुसँग सम्बन्ध विच्छेद नगर्दासम्म नयाँ राजनीतिक दल वा योग्य व्यक्ति विशेषलाई सत्तामा पुग्न सजिलो छैन । यसरी हेर्दा प्रजातन्त्रलाई जनताद्वारा नै बिगार्ने कार्य भइरहेको देखिन्छ । अब यसो नहोस् ।
देश हामी सबैको हो । यहाँ कोही व्यक्ति वा राजनीतिक दलहरुको आलोचना वा पूर्वाग्रह होइन । केवल देश बनाउन सक्षम दृष्टिकोण भएको सक्षम राजनीतिक दल र व्यक्ति देशको आवस्यकता हो । सबैको चाहना हो । यो साझा चाहनालाई पूरा गर्न सबैको विवेक आवश्यक पर्दछ । तसर्थ, इतिहासको मूल्याङ्कन गरौं । भविष्यको आकलन गरौं । अनि मतदान गरौं । लोकतन्त्रका नाममा देश नबिगारौं !