• बैशाख २७ २०८३, आईतवार

एमाले-जसपाको गठबन्धनले चार मन्त्रीको पद धराप, प्रधानमन्त्रीले तत्काल हटाउने

आश्विन २५ २०७९, मंगलवार

काठमाडौं । नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच चुनावी तालमेल भएसँगै चार जना मन्त्रीहरूको पद धरापमा परेको छ । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि यी दुई दलको चुनावी तालमेल भएपछि चार जना मन्त्रीहरूको पद धरापमा परेको हो ।

जसपाबाट सिफारिस संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादवको मन्त्री पद धरापमा परेको छ ।

जसपाबाट उनीहरू गत असार २० गते मन्त्री पदमा नियुक्त भएका थिए । यस विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धन दलको बैठक बसेको थियो । निर्वाचनको मिति समेत घोषणा भइसकेको अवस्थामा कामचलाउ सरकारमा परिणत भएको सरकारमा जसपाका चार जना मन्त्री छन् ।

जसपाले सत्तारूढ गठबन्धनसँगको साथ तोडेर एमालेसँग तालमेल गरेपछि जसपाका मन्त्रीहरुको जिम्मेवारी खोस्ने तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ । स्रोतका अनुसार उनीहरूको जिम्मेवारी खोसेर विनाविभागीय बनाउने तयारीमा प्रधानमन्त्री देउवा छन् ।

मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेकाले मन्त्रिपरिषद् हेरफेर र मन्त्री थपघट गर्न नपाइने भएपछि प्रधानमन्त्री देउवाले उनीहरूलाई विनाविभागीय बनाउन लागेका हुन् ।

यसअघि जसपाबाट मन्त्री बनेकाहरूको मन्त्री पद खोस्ने या हटाउने विषयमा देउवाले कानुन व्यवसायी र गठबन्धन दलका शीर्ष नेताहरूसँग परामर्श गरेका छन् । उनले सकभर जसपाबाट सिफारिस भएका मन्त्रीहरूलाई हटाउने सोचमा छन् । तर, निर्वाचन आचारसंहिता लागुू भएको अवस्थामा जसपाका चारै मन्त्रीलाई विनाविभागीय बनाउने प्रधानमन्त्रीको तयारी छ ।

बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन दलको बैठकबाट फर्किएका एक नेताले भने, ‘जसपाले प्रमुख प्रतिपक्षी दलसँग चुनावी तालमेल गरेपछि उहाँहरूका मन्त्रीहरूलाई मन्त्रिपरिषद्मा रहने अधिकार नै हुँदैन । नैतिकताका आधारमा उहाँहरूले राजीनामा दिँदा राम्रो हुन्छ । किनकि उहाँहरूलाई ढिलो–चाँडो प्रधानमन्त्रीज्यूले हटाईहाल्नु हुन्छ । यसर्थ सकभर राजीनामा दिँदा राम्रो ।’

तथापि जसपाका मन्त्रीहरूले चाँडोभन्दा चाँडो राजीनामा नदिए प्रधानमन्त्री देउवाले तत्काल जिम्मेवारी खास्ने छन् । जसपाका सहअध्यक्ष एवं मन्त्री श्रेष्ठले भने, ‘सत्ता गठबन्धनमै रहेको र एमालेसँग आंशिक निर्वाचन क्षेत्रमा चुनावी तालमेलमात्रै गरेकोले हामीहरूले मन्त्री पदबाट कदापि राजीनामा दिँदैनौँ । सत्तारूढ गठबन्धनको साझा न्यूनतम कार्यक्रममार्फत आफूहरू सरकारमा सामेल भएको र त्यसमा प्रतिबद्ध रहेकाले सरकारबाट नहट्ने श्रेष्ठले बताए ।’

एमालेसँग जसपाले असोज १७ गते चुनावी तालेमेल गरेको थियो । अब उसले १४ जिल्लामा सत्ता गठबन्धन दलहरूसँग चुनावी प्रतिस्पर्धा गर्नेछ ।