काठमाडौं । नेकपा एमालेका ५ जना केन्द्रीयस्तरका नेताका नाम पार्टी सदस्यता अभिलेखबाट हटाउने भएको छ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी उम्मेदवारविरुद्ध बागि दिनेदेखि स्वतन्त्र उम्मेदवारी दिनेसम्मलाई पार्टी सदस्यको अभिलेखबाटै हटाउने छ ।
‘स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्छ’, एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘उनीहरूलाई स्पष्टीकरण सोधिरहनु पर्दैन ।’
एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । यसरी स्वतन्त्र उम्मेदवारी दिने स्थायी कमिटी सदस्यमा नेता घनश्याम भुसाल (रुपन्देही) र प्रभु साह (रौतहट) रहेका छन् भने केन्द्रीय सदस्यहरूमा कुन्दन कुशवाह (रौतहट), गंगा चौधरी सत्गौवा, (दाङ) तथा बदमी क्वारा बुढा (डोल्पा) रहेका छन् । उनीहरुको नाम हटाउनेबारे पार्टीको बैठक बसेर निर्णय गरिनेछ ।