काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा भ्रष्टाचार प्रकरणमा मुछिएका व्यक्तिदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेकासम्मले उम्मेदवारी दिएका छन् । ति आरोप लागेका अधिकांश ठूला राजनितिक दलबाट छन् ।
गत आइतबार भएको मनोनयनमा यस्ता व्यक्तिले कोही आफैं उपस्थित भएर उम्मेदवारी दिएका छन् भने केहीले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दिनेमध्ये नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदार, टेकबहादुर गुरुङ, प्रदेशबाट उम्मेदवारी दिएका नेकपा एमालेबाट उम्मेदवार बन्दै युद्ध विक्रम तामाङ (डिवी लामा) छन् ।
यस्तै कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी, नागारिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र लक्ष्मण थारु, एमालेबाट लक्ष्मी महतोले महोत्तरी–१ बाट उम्मेदवारी दिएका छन् । त्यस्तै रातो पासपोर्ट दुरुपयोग गरेर विवादमा मुछिएका एमाले नेता नारदमुनि रानाथारुले पनि कैलाली ५ बाट प्रतितिनिध सभाका लागि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै राप्रपाका विक्रम पाण्डेले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले सुनसरी–३ बाट उम्मेदवारी दिएका छन्। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको भन्दै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनको मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।
कांग्रेसका नेता टेकबहादुर गुरुङ भ्रष्टाचारको अभियोग खेपिरहेका छन्। फनपार्कको जग्गामा भ्रष्टाचार गरेको आरोपमा गुरुङविरुद्ध २०७६ माघमा मुद्दा परेको थियो। उनीमाथि ३१ करोड बिगो दाबी गरिएको थियो। २०७५ चैत्रमा धरौटीमा छुटेका थिए। उनलाई सर्वोच्च अदालतले साधारण तारेखमा छाडेको थियो।
कर्तव्य ज्यान मुद्दामा पक्राउ पूर्जी जारी भएर फरार रहेका आरोपीले पनि यसपटक उम्मेदवारी दर्ता गरएका छन्। सिन्धुपाल्चोकको प्रतिनिधि सभा १ को प्रदेश सभा (क) मा नेकपा एमालेबाट उम्मेदवार बन्दै युद्ध विक्रम तामाङ (डिवी लामा) ले वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका हुन्। अधिवक्ता शशिनाथ आचार्यमार्फत् वारेसबाट उम्मेदवारी दर्ता गराएका हुन्। आचार्य इन्द्रावती गाउँपालिका ६ का वडाध्यक्ष हुन्। उनीविरुद्ध रोजिन बस्नेतसहित ६ जनाले जेठ २ गते ईलाका प्रहरी कार्यालय, बाह्रबिसेमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। प्रहरीले अनुसन्धानपछि उनीविरुद्ध कर्तव्य ज्यानको उद्योगमा मुद्दा दायर गरेको थियो।
पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट प्रत्यक्षमा उम्मेदवारी दिएका छन्।
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका जोशीको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । नागारिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दिया–२ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। चौधरीले बर्दिया २ बाट वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। चौधरी व्यक्ति हत्या (टीकापुर) घटनामा अदालतबाट जन्मकैदको सजाय तोकिएर हाल डिल्लीबजार कारागारमा रहेका छन्। उनीसँगै कैलाली ३ बाट लक्ष्मण थारुले पनि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। उनले पनि वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । टीकापुर घटनामा अदालतले दोषी ठहर गरेसँगै हाल उनी जन्मकैद सजाय तोकिएर कारागारमा छन्।
सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्यामा मुछिएका एमालेका नेता लक्ष्मी महतोले पिन वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका छन् । राप्रपा नेता विक्रम पाण्डेले पनि यसपटक उम्मेदवारी दर्ता गराएका छन्। उनले चितवन ३ बाट आफ्नो उम्मेदवारी दिएका हुन्। सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको उनीमाथि आरोप लागेको छ।