काठमाडौं । देशभर एकै दिन आठ जनाको मृत्यु भएको छ । प्राकृतिक विपत्ति र सडक यातायात दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो ।
आज (सोमबार) प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जारी गरेको बुलेटिनअनुसार देशभर एकै दिन आठ जनाको मृत्यु भएको छ । प्राकृतिक प्रकोपले निम्त्याएको विपत्ति बाढी–पहिरो, चट्याङ र सडक सवारी दुर्घटनामा एकै दिन आठ जनाको मृत्यु भएको हो ।
नवलपरासी (पश्चिम), सुनवल नगरपालिका–३ राधाकृष्ण टोलस्थित सडकमा बा.२ च ७३३२ नम्बरको कारको ठक्करबाट सोही ठाउँ बस्ने घनश्याम हरिजनको ४ वर्षीय छोरा प्रविन हरिजनको मृत्यु भएको छ । उनको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो । कार चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका–१० चारबगियामा बीएए २५८० नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया कुवारी उपाध्यायको मृत्यु भएको छ । उनको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने फरार कार चालकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै महोत्तरी, गौशला नगरपालिका–१ मिलन चौकस्थित सडकमा बा. ८७ प ९६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१ रामनगर बस्ने ६५ वर्षीय चेत प्रसाद प्याकुरेलको मृत्यु भएको छ । उनको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरािइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबास हुँदै जानकी मेडिकल अस्पताल रमदैया धनुषामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ भने यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
रौतहट, धनकैल गाउँपालिका–४ महिनाथपुर टोल बस्ने लडाई यादवकी ४ वर्षीया छोरी काजल कुमारी यादवको बृन्दावन नगरपालिका–४ भवानीस्थित चाँन्दी खोलामा डुबेर मृत्यु भएको छ । उनको आइतबार दिउँसो मृत्यु भएको हो ।
आफ्नै मामा बृन्दावन नगरपालिका–४ भवानी टोल बस्ने राजेश यादवको घरमा बस्दै आएकी उनको उक्त खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनाको सम्बन्धमा पनि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
बाँके, राप्तीसोनारी गाउँपालिका–२ अम्रवाघाटमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका छन् । उनी आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका–५ सोतास्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत शव फेला परेको छ । उनको मृत शव आइतबार फेला पारेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
कञ्चनपुर, बेलौरी नगरपालिका–१ भुपु सैनिक टोल बस्ने ५२ वर्षीय पुरन सिंह पन्तको करेन्ट लागेर मृत्यु भएको छ । उनको आइतबार दिउँसो मृत्यु भएको हो ।
छिमेकीको घर जाने क्रममा भुइँमा खसेको फलामको ग्याविङ तार उठाउन खोज्दा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
बाँके, बैजनाथ गाउँपालिका–३ बनखेत बस्ने ६८ वर्षीय कालिवन वस्नेतको चट्याङ लागेर मृत्यु भएको छ । उनको आइतबार दिउँसो मृत्यु भएको हो । सोही गाउँपालिकास्थित जंगलमा गोठालो जाँदा चट्याङ लागेर गम्भीर घाईते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
वर्षायामको समय भएकोले व्यक्ति स्वयंले आफ्नो सुरक्षा अपनाउन प्रहरीले आग्रह गरेको छ । भइपरी आउने संकट (बाढी–पहिरो, चट्याङ) र विपत्तिलाई कसैले रोक्न नसक्ने भएकोले व्यक्ति स्वयंले आवश्यक सतर्कता अपनाउन सके ज्यान जोगिन सक्ने प्रहरी बताउँछ । यसका लागि व्यक्ति स्वयं सतर्क रहन प्रहरीले आग्रह गरेको छ । यद्यपि यी संकटबाट कुनै अप्रिय घटना घटेमा प्रहरी अहोरात्र खट्ने छ ।
सडक सवारी दुर्घटनाको हकमा सवारी चालकको लापर्बाही, ट्राफिक नियमको उल्लंघन, कच्ची रोड रहेको प्रहरीले बताएको छ । यसका लागि सवारी चालकले ट्राफिक नियमको उल्लंघन नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।
कँडेलका अनुसार, ‘सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा हुनुका साथै यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्नेछ । त्यस्तै गरि कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ ।’