काठमाडौैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै छन् ।
उनले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लागेका हुन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांग्रेसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदबारी दिँदै छन् ।
प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले आज अपराह्न २ बजे मनोनयन दर्ता गराउने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा राणा शनिबार बेलुका नै डडेल्धुरा पुगेकी छिन् ।
प्रधानमन्त्री देउवा डडेल्धुराबाट विसं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ त्यस यताका सबै आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आएका छन् ।
विसं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा विसं २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए । उनले विसं २०४८ मा सांसद बनेपछि गृहमन्त्री बनेका थिए । सिं २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो ।
त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी पाँच पटक प्रधानमन्त्री बनिसकेका छन् । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै छन् ।