• बैशाख २७ २०८३, आईतवार

पार्टीमा नीति र विधिको पुनःस्थापना नभएको भन्दै घनश्याम भुसालले त्यागे एमाले

आश्विन २२ २०७९, शनिबार

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीमा नरहने घोषणा गरेका छन्। शनिबार फेसबुकमा स्टाटस लेख्दै भुसालले त्यसबारे जानकारी गराएका हुन्।

‘म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’, उनले लेखेका छन्।

भुसालले अहिले एमाले केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले–केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको बताएका छन्। ‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा संघर्ष गर्दै आएको कुरा सर्वविदित नै छ’, उनले लेखेका छन्।

नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिस्ट आन्दोलनका अनुभवलाई समेट्दै आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उचाइमा लगेको उनको ठम्याइ छ ।

‘तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो’, घनश्यामले लेखेका छन्, ‘त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो। आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनावद्ध आक्रमण बढ्दै गयो ।’

नेकपा एमालेभित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि संघर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा आफ्नो ऐक्यबद्धता रहने उनको भनाइ छ । ‘राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु’, उनले लेखेका छन्, ‘कमरेडहरु! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै बिन्दुमा हामी पुनः भेट हुनेछौं ।’