काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले सत्ता गठबन्धनमा सहभागी हुन काँग्रेससँग छलफल थालेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)पाँच दलीय गठबन्धनबाट बाहिरिएपछि लोसपा नेपालले सत्ता गठबन्धनमा सहभागी हुन छलफल थालेको हो ।
आजै लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र जितेन्द्र सोनलले काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
उनीहरुले लोसपा गठबन्धनमा सहभागी हुने कुरामा सहमति जनाएको बताइएको छ । सीट बाँडफाँटमा लोसपाको माग कति हो, त्यसको बारेमा पनि छलफल हुने भनिएको छ । नेताहरु बालुवाटारबाट छलफल गरेर फर्केपछि अहिले लोसपाको केन्द्रीय कार्यालयमा शीर्ष नेताको बैठक बसिरहेको छ ।