काठमाडौं । रामबहादुर केसी काठमाडौंबाट बिहानै बुटवलको यात्रामा छन् । उनी अहिलेसम्म आफू बुटवल नपुगेको बताउँछन् । बाआमा काठमाडौंमा रहेको र दाजुभाइ र दुई दिदीको हातबाट बुटवलमै पुगेर बडादशैँको टीका थाप्ने उनको भनाइ छ ।
बडादशैँको पहिलो दिन बाआमाको हातबाट टीका आशीर्वाद ग्रहण गरे पनि केसी घरको कान्छा छोरा हुन् । त्यसैले घरमा रहेका दाइ, भाउजू र दिदीको हातबाट टीका थाप्न उनी यहाँबाट बिहानै गाडीको यात्रामा छन् ।
हुन त बुटवल पुग्न कयौँ दिन नलागे पनि घण्टौँ यात्रा भने गर्नैपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘बिहान गाडी चढ्यो भने दिउँसो पुगिन्छ । तर, अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएको छ, पहिरो जानेक्रम रोकिएको छैन । जोखिम मोलेरै भए पनि यात्रामा छु । दुःखको कुरा अहिलेसम्म घर पुगेको छैन । सायद आज पुग्न मुस्किल नै होला जस्तो छ । अगाडि पछाडिबाट पहरो गएको छ । योक्रम रोकिएको छैन । काठमाडौं–बुटवलबाट बाआमा र दाइ, दिदीहरूले फोन गरिरहनु भएको छ ।’
त्यस्तै अर्की शर्मिला अधिकारी पनि काठमाडौंबाट आजै चितवन हिँडेकी छिन् । उनी पनि अहिलेसम्म घर पुग्न नसकेको गुनासो गर्छिन् । दिउँसो बाह्र बजेका लागि टिकट बुकिङ गरेकोले घर जानैपर्ने बाध्यता रहेको उनी बताउँछिन् । हिजो हल्का पानी परे पनि आज यसरी अविरल वर्षा होला भन्ने नसोको अधिकारी बताउँछिन् ।
चितवन सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै सार्वजनिक तथा निजी यातायात ठप्प छन् । पूरै बाटो जाम छ । त्यसैले यात्रुहरू अलपत्र परेका छन् । शर्मिला जस्तै कोही काठमाडौंबाट बाहिरिने र कोही काठमाडौंबाट भित्रिन चाहाने यात्रुहरूको बाटोमै बास भएको छ ।
त्यस्तै रुपन्देहीबाट बिहानै काठमाडौंका लागि गाडि चढेका प्रकाश बुढा पनि बाटोमै अलपत्र परेका छन् । उनले सामाजिक सञ्जाल टिकटकमार्फत आफू बाटोमा फसेको बताएका छन् । आफूसहित कयौँ यात्रुहरू पहिरोका कारण चितवन–मुग्लिन सडकखण्डमा फसेको बताए ।
उनीहरू काठमाडौं आउ–जाउका क्रममा बाटोमा अलपत्र परेका केही प्रतिनिधि यात्रुहरू मात्रै हुन् । यस्ता कयौँ यात्रुहरू देशका विभिन्न सडकखण्डमा अलपत्र परेका छन् । उनीहरूको उद्धारका लागि स्थानीय प्रशासन, सेना–प्रहरी परिचालन गरिएको गृह मन्त्रालयले बताएको छ । उसले देशका अधिकांश भू–भागमा बाढी–पहिरो जानेक्रम नरोकिएकोले सतर्क रहन आग्रह गरेको छ ।
गृह मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी बसन्त भट्टराईले अविरल वर्षाका कारण धनजनको क्षति हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । उनले वर्षाकै कारण सडक यातायात अवरुद्ध हुनुको साथै यात्रुहरू ठाउँ–ठाउँमा अलपत्र परेकोले उनीहरूको उद्धारका लागि पहल गर्ने आश्वासन दिए ।
त्यस्तै चितवन सडकखण्डको ठाउँ–ठाउँमा पहिरो गएकोले खुलाउने प्रयास भइरहेको चितवका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गोल बखरलाई बताए । तामाङले गोल खबरसँग संक्षिप्त संवाद गर्दै भने, ‘यतिबेला बडादशैँको अवसर भएकोले यात्रुहरूको आवत–जावत निकै बाक्लो छ । बिडम्वना, अविरल वर्षाका कारण केही ठाउँमा पहिरो गएकोले सडक जाम बढ्यो । यसलाई हटाउन हामीले पहल गरिरहेका छौँ । सकेसम्म ढिला नगरी चाँडोभन्दा चाँडो सडकले निकास पाउँछ । यात्रुको सास्ती कम हुन्छ ।’
अविरल वर्षाकै कारण देशका अधिकांश ठाउँमा बाढी पहिरो गएको प्रहरी जनाएको छ । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार लमजुङ, मस्र्याङदी गाउँपालिका(४ अर्खलेस्थित लमजुङमनाङ सडकखण्डमा अविरल वर्षाको कारण बुधबार दिउँसो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।
यसैगरी बेसीशहर नगरपालिका–१ उदिपुरस्थित डुम्रे–बेशिसहर सडकखण्ड समेत बिहीबार बिहान पहिरो जाँदा पूर्णरूपमा अवरोध भएको छ । दाङ, घोराही उपमहानगरपालिका–१९ च्यानगैरास्थित होलेरी–घोराही सडकखण्डमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१३ भन्ज्याङस्थित तुलसीपुर(अमिलिया सडकखण्ड समेत अविरल वर्षाको कारण बुधबार दिउँसो पहिरो जाँदा अवरोध भएको छ । प्यूठान, स्वर्गद्धारी नगरपालिका– ९ प्यूठान–रोल्पा सडकखण्डस्थित जुरापाटामा बुधबार बेलुकी पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।
सल्यान, कपुरकोट गाउँपालिका–३ फलाटेस्थित दाङ–सल्यान सडकखण्ड अन्तर्गत राप्ती राजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ । सुर्खेत, गुर्भाकोट नगरपालिका–९ पोखरेस्थित छिन्चु–जाजरकोट सडकखण्डमा बुधबार बेलुकी पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।
दोलखा, भिमेश्वर नगरपालिका–५ बिरुवास्थित चरिकोट–मन्थली सडकखण्डमा बुधबार बेलुकी पहिरो जाँदा सडक अवरोध भएको छ । रोल्पा, रुण्टिगढी गाउँपालिका–५ खुम्वासास्थित दाङ–रोल्पा सडकखण्डमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।
पाल्पा, रिब्दिकोट गाउँपालिका–२ जोर्ते घुम्तिस्थित तानसेन(रिडी सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ । नुवाकोट, बेलकोटगढी नगरपालिका–७ बुद्धसिङघाटस्थित गल्छी–त्रिशुली सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।
स्याङ्जा, गल्याङ नगरपालिका–८ झोल्पेस्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ । मुस्ताङ, थासाङ गाउँपालिका–४ घोप्टे भिरस्थित बेनी–जोमसोम सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ ।
चितवन, भरतपुर महानगरपालिका–२९ मुग्लिङ–नारायणगढ सडकखण्डस्थित सत्र किलोमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूफमा अवरोध भएको छ । नजिकका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अवरोध भएका सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।