• बैशाख २७ २०८३, आईतवार

दशैंमा सर्वोच्च अदालत खुल्यो, बन्दी प्रत्यक्षीकरणको रिट आएन

आश्विन १६ २०७९, आईतवार

काठमाडौं । बन्दी प्रत्यक्षीकरण लगायतको मुद्दा हेर्नुपर्ने भन्दै दसैँ बिदामा समेत सर्वोच्च खुले पनि रिट भने शुन्य जस्तै छ । सर्वोच्च अदालतमा असोज १४ र १६ गते बन्दी प्रत्यक्षीकरणको एउटा पनि रिट आएको छैन ।

असोज ९ गते नियमितरुपमा अदालत खुली असोज १० गतेबाट बिदा भएको भए पनि शनिवारबाहेक सर्वोच्च अदालत खुला नै छ । तर बन्दी प्रत्यक्षीकरणको रिटका लागि असोज ११ गते योगेन्द्र तामाङको तर्फबाट रिट आए पनि त्यसपछि कुनै रिट आएको छैन । असोज ११ गतेको पेशीमा योगेन्द्र तामाङको तर्फबाट निजकी श्रीमती सुनाम तामाङ मोक्तानले रिट ल्याएकी थिइन् । उक्त रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले जिल्ला प्रहरी परिसर टेकुका नाममा कारण देखाऊ आदेश जारी गरेका थिए ।

जिल्ला प्रहरी परिसर टेकुबाट जवाफ आएपछि असोज १३ गतेको पेशीमा न्यायाधीश डा. आनन्दमोहन भट्टराईले रिट खारेज गर्दै थुनामुक्त गर्नु नपर्ने आदेश दिएका थिए । त्यसपछि असोज १४ र असोज १६ गतेको पेशीमा बन्दी प्रत्यक्षीकरणको रिट परेको छैन ।