काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीको त्रुटि सच्याउने अन्तिम दिनसम्म पनि सहमति जुटाउन सकेको छैन । गए रातिदेखि कांग्रेसको नेताहरुले छलफल गरेपनि सहमति जुटाउन सकस भएको छ ।
शेखर पक्षले आफ्नो तर्फबाट ४० प्रतिशत नाम समानुपातिक सूचीमा समावेश हुनुपर्ने माग राख्दै आएको छ । शेखर पक्षको १३ जनाको नाम मात्रै समावेश भएपछि असन्तुष्टि भएको हो ।
समानुपातिकको नाम सच्याउने विषयमा शनिबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । आइतबार समानुपातिकको नाम सच्याउने एक दिनको समय तोकिएको छ । निर्वाचन आयोगको तालिका अनुसार समानुपातिकको बन्दसूची संशोधन गर्ने मिति असोज १० गतेदेखि असोज १६ गते साँझ ५ बजेसम्म छ । आयोगले उक्त सूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा असोज १७ गतेको मिति तोकेको छ ।
संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेपछि सस्थापन समूह थप अप्ठेरोमा परेको छ ।