काठमाडौं । जिल्ला प्रशासन कार्यालय, झापाले ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै रकम असुल्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन र यस्तो गैर कानुनी कार्यमा संलग्न नहुन पुनः सूचना जारी गरेको छ ।
‘हालैका दिनमा नेपाली नागरिकलाई शरणार्थी परिचयपत्र बनाएर अमेरिका, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा पठाउने झुटा आश्वासन दिई विभिन्न गैरशरणार्थीबाट मोटो रकम असुल्ने गरेको भन्ने विषयमा ध्यानाकर्षण भएको’ जनाउ दिँदै प्रशासन कार्यालयले यस्तो दण्डनीय कार्यमा नफस्न आग्रह गरेको छ ।
झापा–मोरङमा रहेका केही शरणार्थी र केही स्थानीयवासी समेतलाई नक्कली शरणार्थी परिचयपत्र बनाएर अमेरिका लगिने भन्दै एउटा गिरोहले करोडौँ रुपैयाँ असुल गरिरहेको बारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन गरिरहेको छ ।
प्रलोभन देखाएर गैर शरणार्थीलाई अमेरिका वा तेस्रो मुलुक लैजाने भन्दै गिरोहले बढीमा ५० लाख रुपैंयासम्म उठाउने गरेको प्रमाण बाहिर आइसकेको अवस्थामा राष्ट्रसङ्घीय शरणार्थी उच्चायोगले पनि भुटानी शरणार्थीलाई पुन: बसोबास गर्ने कार्यक्रम पूर्ण रूपमा स्थगित भइसकेकाले कुनै रूपका प्रलोभनमा नपर्न अनुरोध गर्दै आएको छ ।