• बैशाख २७ २०८३, आईतवार

एमालेसित एक्लै लड्ने हैसियत नभएपछि गठबन्धन बनाएका हुन् : रायमाझी

आश्विन ८ २०७९, शनिबार

काठमाडौं । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियत नै नभएको दावी गरेका छन् । सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले काँग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि लगाए ।
उनले भने, ‘नेकपा (एमाले) सँग आज निर्वाचनमा एक्लै भिड्ने कसैको हिम्मत छैन भन्ने कुरा उनीहरुले गठबन्धन बनाएबाट पुष्टि हुन्छ । तथ्यले त्यही बताउँछ । आफ्नो अस्तित्व रक्षाका लागि पनि कतिपय दलहरुले गठबन्धन आवश्यक्ता हो भनेर काँग्रेसको पुच्छर बनिरहेका छन् । गठबन्धन गरेपनि उनीहरुलाई सजिलो छैन ।’

नेकपा (एमाले) अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारुढ दलहरु गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको दोहोर्याए ।

सचिव रायमाझीले सत्तारुढ गठबन्धन देशी/विदेशी प्रतिक्रियावादीहरुको इसारामा चलेकाले उनीहरुलाई नेपाली जनताले आगामी निर्वाचनमा परास्त गर्नुको विकल्प नभएको बताए ।
उनले भने, ‘एउटा पार्टी भित्र त प्रत्यक्ष र समानुपातिक सिट बाँडफाँटमा समस्या भइरहेको छ भने उनीहरुलाई झन गाह्रो हुनेछ । यो गठबन्धन देशी, विदेशी प्रतिक्रियावादीहरुले बनाएका हुन । यो उनीहरुकै इसारामा चल्छ ।’

सचिव रायमाझीले केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने समेत उल्लेख गरे । उनले सत्तारुढ गठबन्धनले चुनाव जिते मुलुक २० वर्षपछि पर्ने भन्दै एमालेको पक्षमा मतदान गर्न पनि सबैलाई आग्रह गरे ।