• बैशाख २७ २०८३, आईतवार

सिट बाँडफाँडमा मोर्चाबन्दी गर्न तीन दलको छलफल जारी

आश्विन ७ २०७९, शुक्रबार

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । उनीहरूबीच शुक्रबार छलफल भएको जसपाका एक नेताले जानकारी दिए ।

भेटमा उनीहरूबीच सिट बाँडफाँट टुंग्याउने विषयमा कुराकानी भएको ती नेताले जानकारी दिए । सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा सहमति हुन नसकिरहेको अवस्थामा तीन अध्यक्षबीच छलफल भएको हो । ती नेताका अनुसार गठबन्धनभित्र ठूलो दल नेपाली कांग्रेसले बढी सिट लिने अडान नछाडेपछि मोर्चाबन्दी गर्नुपर्ने विषयमा छलफल भएको हो ।

“पाँच दलका बीचमा सिट बाँडफाँटलाई टुंगो लगाउन सकिएको छैन । कांग्रेसले धेरै सिटमा दाबी छोडेको छैन,” ती नेताले भने, “त्यहीबारे तीन दलका अध्यक्षहरूबीच छुट्टै छलफल भएको हो । तीन दलले लिने अडान र सहमतिका सम्भावनाहरू बारे छलफल भएको हो ।”