काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताइएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ पत्रकारहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानतः राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने बताए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक हाल राष्ट्रपति कार्यालयमा विचाराधीन रहेको बताउदै उनले भने – ‘संविधानतः राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ र गर्नुहुन्छ भन्ने विश्वास छ’ ।
प्रतिनिधिसभाले विधेयक प्रमाणीकरण गरेर पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ भने प्रतिनिधिसभाले विधेयक प्रमाणीकरण गरेर पठाएको आज मंगलबार १५ औं दिन हो ।