अछाम । अछाम बाढीपहिरोमा परि मृत्यु भएका २३ जनाको आज सामूहिक दाहसंस्कार गरिएको छ ।
शुक्रबार रातीको अविरल वर्षका कारण अछामका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एकजना गर्भवती महिला, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो । जिल्ला अस्पतालको चिकित्सकसहितको टोलीले सम्बन्धित ठाउँमा नै पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम सहायक प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए ।
परिवार पूरै सखाप हुने गरी भएको घटनाका कारण अछाम शोकमग्न भएको छ ।
जिल्लाको कमलबजार नगरपालिका ६ विपथमा ७ जना, बडा नम्बर ८ ढाँकुमा ५ जना, तुर्माखाँद ५ नाडामा ९ जना र ढकारी ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एक/एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । कमलबजार ६ विरपथकी २० वर्षीया धना जनाला ६ महिनाकी गर्भवती रहेकी र पेट काटेर छोरा गर्भमा रहेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ ।