• बैशाख २६ २०८३, शनिबार

चोलेन्द्रलाई ‘नजरबन्द’ गराएको भन्दै ओलीको विरोध

आश्विन २ २०७९, आईतवार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले प्रहरी लगाएर नजरबन्द गरेको भन्दै आपत्ति जनाएका छन्।

बालकोटमा आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सरकारी रवैयाको विरोध जनाएका हुन्।

‘सेना पुलिस छ भन्दैमा कसैलाई ‘नजरबन्द’ गर्न पाइन्छ। लोकतन्त्रमा कसैलाई पनि ‘नजरबन्द’ गर्न पाइँदैन सेना पुलिस छ भनेर जे पनि गर्ने, घर घर्ने ’ उनले आक्रोश पोखे।

संसदबाट महाअभियोग प्रमाणित नभएपछि राणा सर्वोच्चमा जाने प्रयास गरेका थिए। त्यस प्रयासलाई ओलीले जायज भनेका छन्।

‘अभियोग पुष्टि भएन भने उहाँले के गर्ने त,’ उनले भने।

राणाको प्रयासपछि प्रधानन्यायाधीशको सरकारी निवास वालुवाटार र सर्वोच्च अदालतमा परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो।

सरकारले षडयन्त्रपूर्वक राणाविरूद्धको महाअभियोगलाई ६ महिनासम्म झुलाएको उनले बताए।

‘प्रतिनिधिसभामा महाअभियोग दर्ता भएपछि किनारा लाग्नुपर्छ भनेर हामीले माग राख्यौँ। सत्तापक्षले गणितीय खेल खेल्यो यो गलत भयो। सत्तापक्षले विलम्ब गरेर सफाइ दियो। आफैँले खनेको खाल्डोमा सरकार आफैँ पर्‍यो,’ उनले भने।

सत्ता गठबन्धनले शक्तिपृथकीकरणको सिद्धान्तविपरीतका काम गरेर न्यायालय र संवैधानिक निकायलाई ध्वस्त बनाउने काम गरेको ओलीको आरोप छ।