• बैशाख २६ २०८३, शनिबार

कांग्रेसलाई गठबन्धन तोडेर एक्लाएक्लै चुनावमा भिड्न उक्साउने एमाले राप्रपासँग तालमेल गर्दै

भाद्र ३० २०७९, बिहीबार

काठमाडौं । आसन्न मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समय नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । दलका शीर्ष नेता तथा कार्यकर्ता देश दौडाहमा निस्केका छन् । उनीहरूलाई पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा सरिक हुन भ्याइनभ्याई छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी केन्द्र)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चा (राजमो)का अध्यक्ष चित्र बहादुर केसी लगायत अन्य साना दलका शीर्ष नेताहरू निर्वाचन लक्षित पार्टीका सार्वजनिक कार्यक्रममा सरिक हुँदै आएका छन् ।

यद्यपि निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरूलाई चुनावी प्रचार–प्रसारमा रोक लगाए पनि उनीहरू परोक्ष रूपमा पार्टीका कार्यक्रममा सामेल हुँदै आएका छन् । दलका शीर्ष नेता चुनावी परिणाम आफ्नो पोल्टामा पार्न नेता कार्यकर्ता प्रवेश गराउने लगायत सांगठानिक गतिविधि पनि अगाडि बढाइरहेका छन् ।

निर्वाचनको मुखैमा दल बदल गर्नेहरूको भीड लावालस्कर हुन्छ । हरेक सार्वजनिक कार्यक्रममा नेता तथा कार्यकर्ता एकपछि अर्को गरेर पार्टी प्रवेश गर्नेक्रम रोकिँदैन । केही निश्चित स्वार्थका लागि पार्टी प्रवेश गर्दछन् भने केही लहलहैमा प्रवेश गर्ने गरेको एमाले नेता महेश बस्नेत बताउँछन् ।

तथापि यतिबेला राष्ट्रिय राजनीतिमा दल बदल गर्नेभन्दा पनि चुनावी तालमेल गर्ने विषय महत्वपूर्ण बनेको छ । सत्ता गठबन्धन दलहरू स्थानीय निर्वाचनसँगै आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि एकढिक्का भएर उभिएका छन् भने प्रतिपक्षी एमाले, राप्रपा लगायतका अन्य साना दलहरू पनि चुनावी तालमेल गर्ने पक्षमा छन् ।

सत्ता गठबन्धन एकढिक्का भएसँगै एमालेभित्र सन्त्रास छाएको छ । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा उसले सोचे जस्तो मतपरिणाम ल्याउन नसकेपछि आगामी निर्वाचनका लागि तालमेलको गर्ने सोचेको छ । अध्यक्ष ओलीले राष्ट्रिय स्तरमा गठबन्धन नगर्ने र आवश्यक्ताअनुसार प्रदेश र जिल्लामा गर्न सकिने बताउँदै आएका छन् ।

तर, ओली यो अभिव्यक्ति दिँदै आए पनि आन्तरिक रूपमा सत्ता गठबन्धनविरुद्ध बाहिरका सानादलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका अन्य साना दलसँग उसले चुनावी तालमेल गर्ने भएको हो ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग ओलीले भेटवार्ता गरेका छन् । भेटमा ओलीले देउवालाई गठबन्धन तोडेर चुनावमा एक्लाएक्लै भिड्ने आग्रह गरे । तथापि देउवा यसमा राजी नभएको स्रोत बताउँछ । उनी राजी नभएपछि निराश हुँदै बालकोट फर्केका ओली गठबन्धन बाहिरका साना दलसँग तालमेल गर्ने भएका छन् ।

यी पार्टीका नेताहरू आगामी निर्वाचनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट साँझ–बिहान धाउन थालेको महिनौँ भयो । ओली सत्ताबाट बाहिरिएसँगै बालकोट सरेलगत्तै बाक्लै चहलपहल हुने गर्छ । तर, केही समय यता चहलपहल सेलाए पनि हालै सम्पन्न स्थानीय निर्वाचन यता ओलीसँग फेरी भेटघाट बाक्लिदै गएको छ ।

आगामी मंसिरमा हुने निर्वाचनका लागि ओली निवास प्रत्येक दिन चहलपहल र भेटघाट बढ्न थालेको छ । हिजो आज ओली निवास बाहिर उनलाई भेट्न आउनेहरूको निजी र सरकारी गाडीको बाक्लो लावालस्कर देखिन्छ ।

एक महिनाअघि देखि नै ओलीसँग बालकोटमै आएर जनताप्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भेट गर्दै आएका छन् । उनीसँगको भेटपछि त्रिपाठीले पत्रकारसँग अन्तरक्रिया गर्ने सन्दर्भमा विविध विषयमा कुरा भएको बताए । उनीसँगको भेट निर्वाचन केन्द्रित भएको बताइएको छ ।

२०७४ को निर्वाचनको मोडलमा नभई एमालेसँग चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल भएको त्रिपाठीले बताउँदै आएका छन् । त्रिपाठी यसअघि एमालेको सूर्य चिह्न लिएर चुनाव जितेका थिए । उनले अहिले आफ्नो पार्र्टी भएकाले दुई पार्टीबीच के कसरी गठबन्धन गर्न सकिन्छ भन्ने बारेमा सामान्य कुराकानी भएको बताए ।

यसअघिको निर्वाचनमा एमालेको सूर्य चिह्न लिएर नवलपरासी क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । यसअघि ओलीसँग नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले पनि भेट गरेका थिए । ओली निवास बालकोटमै भएको भेटमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको थियो ।

गत स्थानीय निर्वाचनमा एमाले र परिवार दलबीच चुनावी सहकार्य भएको थियो । परिवार दलकामहामन्त्री सन्तोषकुमार पौडेलका अनुसार भेटमा स्थानीय निर्वाचनको समीक्षा हुनुको साथै अगामी निर्वाचनमा पनि दुई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो ।

गत साउनमा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको थियो । भेटवार्तामा राष्ट्रिय राजनीतिका समसामयिक विषय र चुनावी तालमेलबारे छलफल भएको बताइएको थियो ।

ओली र लिङदेनबीच स्थानीय तहको निर्वाचनपछि दोस्रोपटक भेटवार्ता भएको स्रोतले बतायो । २०७४ सालको संसदीय निर्वाचनमा एमाले र राप्रपाले एक–अर्कालाई सघाएका थिए ।