• जेष्ठ ४ २०८३, सोमबार

सन्दीपमाथि अपहरणको मुद्दा पनि चल्न सक्ने सम्भावना

भाद्र ३० २०७९, बिहीबार

 

काठमाडौं। जबरजस्ती करणीको आरोप खेपिरहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा समेत अनुसन्धान र मुद्दा दर्ता हुनसक्ने देखिएको छ । कानुन र सर्वोच्च अदालतकै नजिरले सन्दीपमाथि उक्त कसुर पनि आकर्षित हुनसक्ने सम्भावना बढाएको हो ।

धनुषाका एक बोर्डिङ स्कुलका सञ्चालक गणेश बहादुर श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलामा नाबालिकालाई अभिभावक वा संरक्षकको मञ्जुरी बिना नै कतै लगी जबरजस्ती करणी गरेमा जबरजस्ती करणी र अपहरण तथा शरीर बन्धक मुद्दामा पनि सजाय हुनसक्ने फैसला गरेको छ । २०७८ माघ २४ गते गरिएको फैसला अनुसार अभियोजकले अपहरण तथा शरीर बन्धकको मुद्दा पनि अदालतमा ल्याएमा र ठहर भएमा जबरजस्ती करणीबाहेक अपहरण तथा शरीर बन्धक मुद्दामा पनि सजाय हुनसक्ने नजिर बनाएको छ ।

आफ्नै बोर्डिङ स्कुलमा अध्ययनरत एक १३ वर्षीय छात्रालाई ललाई फकाई र डर धम्की दिई होटलमा लगी बलात्कार गर्ने शिक्षक गणेश बहादुर श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले जबरजस्ती करणीमा हुने सजायबाहेक अपहरण तथा शरीर बन्धक मुद्दामा पनि थप सजाय हुने फैसला गरेको थियो । सोही फैसलालाई आधार मानी अभियोजकले अदालतमा अपहरण तथा शरीर बन्धक गर्न नहुने कसुरमा समेत मुद्दा लगेमा र अदालतबाट अभियोग पुष्टी भएमा थप सजाय समेत हुन सक्ने देखिएको हो ।

प्रहरीका अनुसार बानेश्वरको एक होस्टलमा बस्दै आएकी पीडित भनिएकी नाबालिगलाई सन्दीपले आफ्नै कारमा राखेर नगरकोटसम्म पु¥याएका थिए । नाबालिगलाई लिएर जाने क्रममा सन्दीपले नाबालिगको अभिभावक वा होस्टलका वार्डेन लगायतसँग अनुमति समेत लिएका थिएनन् । कानुनले अभिभावक वा संरक्षकको अनुमति नलिई नाबालिगलाई एक स्थानबाट अर्को स्थानमा लगेमा त्यसलाई अपहरण मानेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २११ मा अपहरण गर्न नहुनेबारे उल्लेख गरेको छ । सोही दफाको उपदफा २ मा के कसो गरेमा त्यसलाई अपहरण गरेको मानिने भनेर उल्लेख गरेको छ । दफा २११ को उपदफा २ (ख) मा बालबालिकालाई निजको बुबाआमा वा संरक्षकको अनुमति बेगर एक स्थानबाट अर्को स्थानमा लगेमा त्यसलाई अपहरण मानिने उल्लेख छ । ऐनको दफा २११ को उपदफा २ (ख) मा लेखिएको छ, ‘कुनै व्यक्तिलाई निजको मञ्जुरी बिना वा बालबालिका वा शारीरिक अशक्तताको कारणले अरुको आश्रयमा बसेको वा मानसिक अस्वस्थताको कारणले होस ठेगानामा नरहेको व्यक्तिलाई निजको बाबु, आमा वा संरक्षकको मञ्जुरी बिना वा झुक्यानमा पारी जबरजस्ती कुनै ठाउँमा लगेमा ।’

प्रहरीका अनुसार सन्दीप लामिछाने प्रकरण जोडिएकी किशोरीको उमेर १८ वर्षभन्दा कम छ र कानुनले १८ वर्षभन्दा कम उमेरकालाई बालबालिका मानेको छ । सन्दीपले किशोरीलाई कारमा लिएर जाँदा उनले होस्टल वार्डेन वा अन्य कोहीसँग पनि अनुमति लिएका छैनन्, जसका कारण सरकारवादी रहने यो प्रकरणमा अभियोजकले अपहरण तथा शरीर बन्धक कसुरमा पनि मुद्दा लैजानसक्ने सम्भावना छ ।