• बैशाख २६ २०८३, शनिबार

तिमल्सिना र चान्सुबीच वार्ता हुँदै, सभामुखसित भयो ६ बुँदे समझदारीमा हस्ताक्षर

भाद्र २८ २०७९, मंगलवार

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सु र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बिहान भेटवार्ता भएको संघीय संसद सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमल्सिनाको सचिवालयका अनुसार नेपाल र चीनको संसदका नेतृत्वसहित प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो । सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा रहेका लीले आज दिनभर उच्चस्तरिय भेटवार्ता गर्दैछन् ।

संसद भवनमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत नेतासँग भेटवार्ता गर्दैछन् । लिले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको । राजधानीमा लीको भ्रमणका कारण सडकमा यातायात प्रभावित भएको छ ।

ट्राफिक प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिसकेको छ । यसैबीच नेपाल र चीनबीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्नि सापकोटा र चीनको जनकंग्रेसको तर्फबाट ली चान्सुले ६ बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् ।

चान्सु हिजो मात्रै तीन दिने भ्रमणका लागि नेपाल आइपुगेका थिए । नयाँ बानेश्वरस्थित संसद भवनमा भएको भेटमा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने, संसदीय मैत्री समूहहरूको संलग्नता अभिवृद्धि गर्ने, एकअर्काको विधायकी सुपरिवेक्षकीय र शासन सञ्चलान सम्बन्धी अभ्यासबारे जानकारी आदान प्रदान गर्ने लगायतका विषयमा समझदारी भएको हो ।

समझदारीमा बेल्ट एण्ड रोड इनिसिएटिभ मार्फत् समेत दुई राष्ट्रहरूबीच अन्तरआवद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने उल्लेख छ ।

समझदारी आगामी पाँच वर्षसम्म मान्य हुनेछ । समझदारीले नेपाल र चीनबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्न सहयोग पुग्ने विश्वास दुबै देशले लिएका छन् ।

नेपाल भ्रमणका आएका चान्शुले भोलीदेखि राजनीतिक भेटवार्ता गर्नेछन् । एमसीसी मार्फत् नेपालमा प्रवेश गरेर आफू विरुद्ध अमेरिकाले आक्रामक नीति लिएको थाहा पाएको चीनले विभिन्न आर्थिक कार्यक्रमहरु मार्फत् नेपाललाई आफूसँगै राख्न चाहेको छ ।

अमेरिकी एमसीसी र एसपीपी मार्फत् चीनलाई घेराबन्दी गर्न लागिएको भन्दै चीनले नेपाल मामिलामा चासो बढाउँदै आएको छ । दूईपक्षीय र बहुपक्षीय चासोको चेपुवामा परेको नेपाललाई कसरी अस्तित्वमा राख्ने भन्नेमा नेपाली शासकहरुले दश चोटी सोंचेर मात्रै छिमेकीसित मित्रताका हाह बढाउन पर्ने बेला आएको छ ।