काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटमा सहमतिको प्रयास गर्ने नेताहरूले बताएका छन् ।
बैठक बिहान ८ बजे बस्ने भनिए पनि ढिलो गरी सुरु भएको हो । यसअघि ११ सदस्यीय कार्यदलले प्रतिनिधि सभा सदस्यका १६५ सिटमध्ये ९० सिटमा मात्रै सहमति जुटेको जनाएको थियो ।
कार्यदलले सहमति जुटेका र जुट्न बाँकी विषयलाई समेत समेटेर शीर्ष नेतालाई सुझाव दिएको छ । आगामी असोज २ गते समानुपातिक तर्फको मनोनयन गर्ने दिन नजिकिदै गर्दा सत्तारुढ दललाई सिट बाँडफाँट गर्न सकस परिरहेको छ ।
यस्तै गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा(कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग सोमबार बिहान भेटवार्ता गरेका छन् ।
दाहाल निवास खुमलटारमा सोमबार बिहान भएको भेटवार्तामा के विषयमा कुराकानी भन्ने नखुलाइए पनि मङ्सिर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाँणले जानकारी दिए ।
प्रतिनिधि सभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्री र सत्तारुढ दल माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालसँग कुराकानी भएको हो ।
त्यस्तै भेटमा नेपाल सरकारसँग विभिन्न समयमा सहमति र सम्झौता गरेका विभिन्न राजनीतिक पार्टीका माग पूरा गर्ने सन्दर्भमा अहिलेसम्म भएका प्रगतिबारे पनि कुराकानी भएको छ ।