काठमाडौं । ललितपुरको लगनखेलस्थित मञ्जुश्री पेट्रोल पम्प महानगरपालिकाले सिलबन्दी गरेको छ ।
मापदण्डविपरित बनाइएको उक्त संरचना हटाउनका लागि महानगरले पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि आइतबार महानगरपालिकाले सिल गरेको हो ।
‘हामीले यसअघि पटक–पटक जानकारी गराएका थियौं । छलफलमा समेत बोलायौं । तर उहाँहरूले अटेर गरेर नहटाएपछि महानगरले आज हटाउन खोजेका थियौं अत्यधिक संवेदनशील भएकाले अहिले सिल गरेका हौं’, महानगरका प्रमुख चिरीबाबु महर्जनले भने ।
विगत ६ महिनादेखि आफूहरूले यो पेट्रोलपम्प मापदण्ड विपरित छ, यसलाई हटाउनू भनेर सम्झायौं तर जति गरे पनि उहाँहरूले नमानेपछि बाध्य भएर हटाउनु परेको मेयर महर्जनले जानकारी दिए ।
पेट्रोल पम्प अति संवेदनशील भएकाले महानगरले सबै तयारी पुरा गरेर हटाएको उनले बताए । हाल तारजाली गरेर लाहा छाप लगाएर छोडेको छ ।