काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ । विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्तीक्षेत्रीले जानकारी दिए ।
काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो । पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ । लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ ।
भदौ ६ गते उनी केन्यामा हुने टी–२० खेलका लागि गएका थिए । त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए । क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल पनि खेल्न पाएनन् । गत शुक्रबार उनले फेसबुकमार्फत् आफूले सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए । उनले आफूमाथि लागेको आरोपको सामना गर्ने र निर्दोष भएको बताएका थिए ।
लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो लागेको छैन । उनी नेपाल नफर्किए इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरिने पनि प्रहरीको भनाइ छ । भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै लामिछानेविरूद्ध गत मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।
जाहेरी परेपछि प्रहरीले सोही दिन पीडितको स्वास्थ्य परीक्षण गराएको थियो । प्रहरीले घटनास्थलबाट प्रमाणहरू जुटाउने काम गरिरहेको जनाएको छ । प्रहरीले काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि संकलन गरेको छ । उनीहरू काठमाडौंको होटलमा जानुअघि भक्तपुरको नगरकोटस्थित होटलमा पनि पुगेको प्रहरीले जनाएको छ ।