काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ ।
नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो ।
विद्यार्थीले राष्ट्रपति भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए । प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा ठाउँठाउँमा झडप पनि भएको थियो ।
विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन रोकिएको छ । यता विदेशीलाई सजिलै नेपाली नागरिकता दिन लागिएको, जन्मसिद्ध नागरिकलाई वंशजको नागरिकता दिन लागिएको र विदेशी बुहारीलाई बिना कुनै हदबन्दी नागरिकता दिने कानून पास गरिएको भन्दै देशभर विरोध भइरहेको बेला कांग्रेस कार्यकर्ताहरु भने राष्ट्रपति विद्या भण्डारीले नागरिकता विधेयक पास नगरी रोकेको भन्दै विरोध गरिरहेका छन् ।
दुवै सदनबाट पास भएको भएपनि राष्ट्रपतिले प्रमाणिकरण नगरेका कारण सो विधेयक लागू भएको छैन । नागकिरता विधेयकलाई भोट बैंकको रुपमा प्रयोग गर्न खोजीरहेको माओवादी र कांग्रेस नेताहरु राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरिदिएका कारण कार्यकर्तालाई उनको विरोध गर्न लगाइरहेका छन् ।