• जेष्ठ ३ २०८३, आईतवार

दार्चुला बाढीपहिरो पीडितलाई उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

भाद्र २५ २०७९, शनिबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोबाट पीडितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

उद्धारका क्रममा आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत गृहमन्त्रीले निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले बाढी पहिराबाट विस्थापितलाई तत्कालीन राहत, उद्धार र स्थानान्तरणमा कुनै कमी हुन नदिन यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका छन् । उनले सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कुनै कसर बाँकी नराख्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

गृहमन्त्री खाँणको निर्देशनपछि कर्णाली प्रदेशको सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म ५ जनाको शव भेटिएको, १० जना बेपत्ता रहेको र ८ जना घाइते भएका छन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए ।