काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । उनले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरेकी छन् । राष्ट्रपतिले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरिन् ।
भाद्र शुक्ल चतुर्दशीका दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, मन्त्रिगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो ।
जात्रा अवलोकनका लागि सो क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधरणको घुइँचो लागेको थियो ।
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइने गरिन्छ ।