• बैशाख २६ २०८३, शनिबार

माओवादी निकट रोल्पा-काठमाडौं सम्पर्क समन्वय समितिको बैठकमा के-के भए निर्णय ?

भाद्र २४ २०७९, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिको बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष भिमप्रकाश बाँठा ‘चिरण’को अध्यक्षतामा बसेको बैठकले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेरद्वारहरुलाई विजय बनाउनका लागि चुनाव केन्द्रित भएर काम गर्ने निर्णय गरेको छ ।

साथै बैठकले रोल्पाबाट काठमाडौँ तथा आसपासका जिल्लाहरुमा आई बसोबास गरेका मतदाताहरुको लगत संकलन गर्ने र उनीहरुलाई मतदान गर्न रोल्पा जाने वातावरण मिलाउन पहल गर्ने, माओवादी नेता कृष्णबहादुर महरा र वर्षमान पुनको उपस्थितिमा असोजको पहिलो साता काठमाडौँमा चुनाब केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ ।     

यसैगरी बैठकले रोल्पा-काठमाडौँ सम्पर्क समन्वय समितिको तर्फबाट संघीय संसदको समानुपातिक तर्फको सांसद पदमा जीवन रोकामगर, रोल्पाको प्रदेश ‘क’ बाट चेतन कुवंर  र रोल्पाकै प्रदेश ‘ख’ बाट जुनमाया घर्तीमगरको नाम सिफारिस गरिएकोमा ती नामहरुलाई आजको बैठकले अनुमोदन गरेको छ। रोका जनजाति तथा कुवंर खस-आर्य समुदायको तर्फबाट उमेदवार सिफारिस भएका हुन् ।

यस अघिको सो समितिको बैठकले ती नामहरु सिफारिस गरेको थियो l बैठकमा पार्टीका केन्द्रीय सदस्य गीता गहतराज विशेष अतिथिको रुपमा उपस्थित थिइन् ।

बैठक केन्द्रीय सदस्य मानबहादुर बुढामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिका इन्चार्ज जीवनप्रवेश रोकामगर, उदय अधिकारी,जयबहादुर घर्तीमगर, चेतन कुवँर र मनिषा श्रेष्ठको पनि उपस्थिति रहेको थियो । बैठकमा माओवादीका जयबहादुर घर्तीमगर ‘प्रभात’ पनि अतिथिको रुपमा उपस्थित थिए ।