• जेष्ठ ३ २०८३, आईतवार

विद्यालयबाट फर्कंदै गरेका ३ बालिका बेपत्ता

भाद्र २२ २०७९, बुधबार

काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका २ र ७ का ७ देखि १० वर्षका तीन जना बालिका बुधबार बिहान ११ बजेदेखि सम्पर्कविहीन छन् ।

विद्यालय सकेर घर फर्किंदै गरेका बालिका बाटोबाटै बेपत्ता भएका हुन् । पिपराका स्थानीयवासीहरूका अनुसार पिपरा गाउँपालिका–२ बनौलीका मोहित चौधरीकी ८ वर्षीया छोरी आराधना चौधरी र पिपरा ७ बनौलीका दीपेन्द्र झाका दुई छोरीहरू ७ वर्षीया प्रज्ञा कुमारी र १० वर्षीया प्रियांशी कुमारी बेपत्ता भएका हुन् ।

७ देखि १० वर्ष उमेर समूहका तीन बालिका बेपत्ता भएपछि गाउँलेहरू उनीहरूको खोजीमा निस्किएका छन् । स्थानीयवासीहरुका अनुसार तीनै बालिका गाउँमै रहेको देवसिद्धी इङलिस बोर्डिङ स्कुलमा पढ्छन् ।

प्रियांशीका पिता दीपेन्द्र झाले बालिकाको खोजी गर्दा नभेटेपछि पिपरा प्रहरी चौकीमा निवेदन दिएका छन् ।

पिपरा प्रहरी चौकीका इन्चार्ज सन्तोष झाका अनुसार स्थानीयवासीहरुले तीनैजना बालिकालाई साढे ११ बजेतिर जनकपुर–जलेश्वर सडक खण्डमा पर्ने चाँदनी चौकमा देखेका थिए ।

स्कुलभन्दा १ किलोमिटर दक्षिणमा पर्ने घर जानु पर्नेमा ती बालिकाहरु चाँदनी चौकमा किन पुगे भन्ने अनुसन्धानको विषय बनेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकीका इन्चार्ज नायव प्रहरी निरीक्षक सन्तोष झाले बालिकाहरूको खोजी गरिएको बताएका छन् ।