• जेष्ठ ३ २०८३, आईतवार

युवा व्यक्तित्व पालैपाले ढलाइँदै, कहाँ पुग्यो सन्दीप विरुद्धको छानबिन ?

भाद्र २२ २०७९, बुधबार

काठमाडौं । नेपाल प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा अनुसन्धान प्रक्रिया अघि बढेको बताएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार एक १७ वर्षीया किशोरीले लामिछानेविरुद्ध पटकपटक बलात्कार गरेको आरोप लगाएकी हुन् ।

पीडित किशोरीका अभिभावकले मंगलबार महानगरीय प्रहरी वृत्त, गौशालामा जाहेरी दिएका हुन् । जाहेरीमा लामिछानेले गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेर त्यसको भोलिल्ट गौशाला क्षेत्रमा रहेको एक होटेलमा लगी बलात्कार गरेको आरोप लगाइएको छ ।

प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले मिति २०७९/०५/०५ गते काठमाडौं र भक्तपुरको विभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अन्दाजी २३ः५५ बजे का.जि.का.म.न.पा–९ स्थित एक होटलको कोठा नं ३०५ मा मिति २०७९/०५/०६ गते रातको अन्दाजी ००ः२५ बजे पटकपटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९/०५/२१ गते प्रहरी वृत्त, गौशालामा जाहेरी दरखास्त दिएको ।’

त्यस्तै प्रहरीले पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा विस्तृत स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी भरतबहादुर बोहराले जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको बताएका छन् ।

उनले भने, ‘अहिले अनुसन्धानको प्रारम्भिक चरणमै छ । अनुसन्धानमा कुनै पनि कसुर नराखी तथ्यप्रमाण जुटाउँछौँ ।’ लामिछानेलाई कसरी ल्याउनुहुन्छ भन्ने प्रश्नमा बोहराले भने,‘त्यो पछिको कुरा हो । अहिले जाहेरीका आधारमा अनुसन्धानमा छौँ ।’

नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् ।

आफूले स्न्याप च्याटमार्फत् एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर भदौ ५ मा नगरकोट घुमाउन लागेको पनि पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छन् । लामिछाने हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन् ।

उनी केन्यासँगको ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलापछि क्यारेबियन प्रिमियर लिग खेल्न त्यसतर्फ लागेका थिए । उनले केन्यासँगको एकदिवसीय शृङ्खला भने खेलेका थिएनन् ।
इन्डियन प्रिमियर लिग, बिग ब्यास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ग्लोबल स्टार बनेका लामिछाने जनवरीयता नेपाली राष्ट्रिय टोलीका कप्तान छन ।

उनी सन् २०१६ देखि नेपाली टोलीबाट लगातार खेल्दै आएका छन् । मुलुकी अपराध संहिताको दफा २१९ अनुसार कसुर पुष्टि भए लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ ।