• मंसिर ८ २०८१, शनिबार

जन्मदिन मनाउने खर्चले सबइन्जिनियर बमले गरिदिए विपन्नलाई बीमा

भाद्र १ २०७९, बुधबार

सुर्खेत । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा कार्यरत सबइन्जिनियर कम्मरबहादुर बमले आफ्नो जन्मदिनको अवसर पारेर खाँडाचक्र नगरपालिका–३ का अति विपन्न गरिब परिवारका दुई जनाको स्वास्थ्य बीमा गरिदिएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन कालिकोटका सह–सचिव समेत रहेका बमले आफ्नो जन्मदिनको अवसरमा विपन्न तथा आर्थिक अवस्था कम्जोर भएका धनसिंह पाण्डे र कुश्मा पाण्डेको निःशुल्क स्वास्थ्य बीमा गरिदिएका हुन् ।

जन्मदिनमा गरिने अनावश्यक खर्चलाई अति विपन्न पाण्डेका परिवारको स्वास्थ्य बीमामा लगानी गरिदिएको उनले बताए । सह–सचिव बमले मंगलबार पाण्डेलाई नयाँ कपडासहित बीमा गरेर समाजलाई सकरात्मक सन्देशसँगै उदाहरणीय कामको सुरुवात गरेका हुन् ।

बमले भने, ‘हामीमा जन्मदिन होस् वा अन्य खुशीका कार्यक्रमहरूमा अनावश्यक खर्च गर्ने चलन बढेको छ, यस्ताखाले खर्चलाई सानो भए पनि समानतामुखी समाज निर्माण गर्न बीमा गर्ने कामको सुरूवात गर्नुपर्छ’ उनले बताए ।

बीमाका कारण धनसिंह पाण्डे र कुश्मा पाण्डेले सामान्य विरामी भएपछि राज्यले तोके अनुसारको औषधि निःशुल्क उपचार पाउने भएका छन् ।