• बैशाख २६ २०८३, शनिबार

आगामी संघ र प्रदेशको निर्वाचनमा पहिलो पार्टी बन्ने एमालेको दम्भ, तेस्रो बन्ने त्रास !

श्रावण २३ २०७९, सोमबार

काठमाडौं । अगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेताहरूले पहिलो पार्टी बन्ने दम्भ देखाउँदै आएका छन् । देशका विभिन्न ठाउँमा एमालेले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उनीहरूले यस्तो दम्भ देखाउँदै आएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले संसद्को बैठकमै एमाले पहिलो बन्ने अभिव्यक्ति दिँदै आएका छन् । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन पश्चात् उक्त बैठकमा आफूले नेतृत्व गरेको पार्टी पहिलो बन्ने दाबी गरेका छन् । उनले सो निर्वाचनमा एमाले दोस्रो बने पनि आगामी संघ र प्रदेशको निर्वाचनमा पहिलो बन्ने बताए ।

गत जेठ १२ गते बसेको संसद् बैठकमा उनले भने– ‘स्थानीय चुनावमा केही सीट कम जिते पनि लोकप्रिय मतका आधारमा पहिलो पार्टी एमाले नै हो । सत्ता गठबन्धनलाई चुनाव जिताउन राज्यको साधनस्रोतको व्यापक दुरुपयोग भएको ओलीले बैठकमा दाबी गरे । गठबन्धन सरकारले पञ्चायतकालमा भन्दा बढी धाँधली गरेको उनको भनाइ थियो ।’

त्यसयता ओलीले देशका विभिन्न ठाउँमा आयोजित पार्टीका सार्वजनिक कार्यक्रममा एमाले पहिलो पार्टी बन्ने दाबी गर्दै आएका छन् । पहिल्लो केही समययता ओली गृहजिल्ला झापामा व्यस्त थिए । उनले त्यहाँ रहँदा एमाले पहिलो बन्नेमा ढुक्क हुन झापालीलाई आश्वासन दिएका छन् । पार्टी पहिलो बन्नेमा तपाईंहरूको साथ र समर्थनको खाँचो रहेको औँल्याए ।

झापाका जनताले २०६४ सालको निर्वाचनमा आफूलाई पराजित गराएकोमा यतिबेला पछुताएको बताए । उनले भने– ‘तपाईंहरूले जसलाई जिताउनु भयो, उनीहरूले आज आएर यहाँको ठाउँका लागि के गरे, त्यो भनिरहनु परेन । त्यसको फेहरिस्त यहाँका जनताले देखिसकेका छन् । यद्यपि यतिबेला पछुताउनु स्वभाविक भए पनि अब उप्रान्त यसो नगर्न उनले आग्रह गरे ।’

आफू पराजित भएको स्मरण गर्दै ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा पहिलो बनाउन झापाली जनतासँग आग्रह गरे । यस पटकको स्थानीय तह निर्वाचनमा झापा दमकका उम्मेदवार पराजित भएका थिए । उनीहरूलाई सान्त्वना दिँदै ओलीले झापालीलाई अब यस्तो गल्ती नदोहोर्याउन सुझाव दिए ।

त्यस्तै एमाले शीर्ष नेताहरू पनि संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्दै आएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीभित्रैबाट अन्तरघात हुनु, सत्ता गठबन्धनमा आवद्ध दलहरूले धाँधली गर्नु र पार्टी टुटफुटका कारण एमाले दोस्रो बनेको उनीहरूको तर्क छ ।

असार दोस्रो साता बसेको एमाले सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एमाले पहिलो हुनेमा ढुक्क रहेको दाबी गरे । उनले भने– ‘स्थानीय तह निर्वाचनमा पार्टीभित्रका केही कमीकमजोरीका कारण हाम्रो पार्टी दोस्रो भए पनि आगामी संघ र प्रदेशको निर्वाचनमा एमाले पहिलो बन्नेछ । तर, त्यसका लागि हरहमेशा पार्टीको माथिल्लोदेखि तल्लो निकायसम्मका नेता तथा कार्यकर्ताले पार्टीलाई पहिलो बनाउन कोसिस गर्नुपर्छ ।’

त्यस्तै पूर्वमन्त्री तथा एमाले सांंसद महेश बस्नेतले गोल खबरसँगको संक्षिप्त संवादमा भने– ‘आगामी निर्वाचनमा एमाले पहिलो बन्नेमा शंका छैन । त्यसका लागि हामी र हाम्रो पार्टीले आन्तरिक तयारी गरिरहेको छ । ढिलो चाँडो हामी त्यस विषयमा गोल खबरलाई जानकारी गराउँछौँ नै । तर, स्थानीय तहमा जस्तो परिणाम आउन हामी कदापि दिँदैनौँ । त्यसका लागि हामी रणनीति बनाउँदै छौँ । तपाईं यसलाई ‘दम्भ भन्नुस् या घमण्ड ।’ संघ र प्रदेशको निर्र्वाचनमा एमाले पहिलो बन्छ, यसमा शंका छैन ।’

तथापि एमालेका अधिकांश शीर्ष नेताले यस्तो बताए पनि सत्तासाझेदार दलहरूको चुनावी तालमेललाई लिएर नेता घनश्याम भुसाल, भीम रावललगायतका केही नेताहरूले तेस्रो बन्ने त होइन भन्नेमा शंका गर्दै आएका छन् । सत्ता गठबन्धन दलहरूसँग एमाले एक्लै भिड्ने निश्चित भएकोले भनेजस्तो सहज नभएको उनीहरू बताउँछन् ।

घनश्याम भुसालले एक टेलिभिजन कार्यक्रममै एमाले अब पहिलो बन्नेमा आशंका व्यक्त गरेका छन् । उनले भनेका छन्– ‘एमालेले स्थानीय तह निर्वाचनमा लोकप्रिय मत ल्याए पनि विजेताको संख्या न्यून नै छ । यसलाई हेर्ने हो भने हाम्रो पार्टीले कुन स्थान ओगट्छ भन्न सकिँदैन ।’ त्यस्तै अर्का नेता भीम रावलले पनि एमाले पहिलो बन्नेमा शंका गर्दै आएका छन् ।

त्यस्तै राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भन्छन्– ‘एमाले पहिलो बन्छु र पहिलो नै बन्ने कोसिस गर्नु राम्रो कुरा हो । तर, उनीहरूले भने बमोजिम पहिलो बन्नु सहज छैन । यता प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसको स्थानीय तह निर्वाचनमा पहिलो बनेको छ । यो नतिजालाई आकलन गर्ने हो भने एमाले पहिलो बन्नेमा शंका छ । सकभर पहिलो बन्दैन । किनकि एमाले अध्यक्ष ओलीले दुई–दुई पटक संसद् विघटन गर्नु र पार्टी नै विभाजनको सिकार हुनुले पहिलो बन्न मुस्किल छ । ओलीको हर्कत सबै जनताले बुझेका छन् । त्यसले गर्दा पनि एमालेलाई आघात पुग्ने निश्चित छ । र, पहिलो बन्नेमा भन्न सकिँदैन ।’