• बैशाख २६ २०८३, शनिबार

पाँच दलीय कार्यदलको संयोजकमा सिटौला चयन

श्रावण २३ २०७९, सोमबार

काठमाडौं। सत्ता गठबन्धनबीच आगामी निर्वाचनमा सिट बाँडफाँटका लागि मोडालिटी बनाउन तय बनेको कार्यदलमा कृष्ण प्रसाद सिटौला संयोजक चयन भएका छन् ।

सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो । कार्यदलका सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सिटौलालाई संयोजक तोकिएको जनकारी दिए । उनका अनुसार अर्को बैठक साउन २६ गते पुनः बस्नेछ ।

कार्यदलमा नेपाली काँग्रेसबाट सिटौला र कार्कीसहित महामन्त्री गगन थापा रहेका छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । प्रतिनिधिसभामा काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।