काठमाडौं । भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी) मा लगानी तथा कारोबारमा संलग्न भएको ठहर गर्दै विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठविरुद्ध ४८ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो । श्रेष्ठले राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको अभियोगपत्रमा दाबी गरिएको छ । श्रेष्ठलाई ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्ण रुपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो ।
श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था विपरीत (गैरकानुनी) रुपमा भर्चुअल मुद्राको कारोबार गरेको अभियोग पत्रमा दाबी गरिएको छ । श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिमको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ । दफा ९५ बमोजिमको कसुर गरेको भन्दै उनीविरुद्ध दफा ९६ को उपदफा (१) अन्तर्गत बिगोको ३ गुणासम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय मागदाबी गरिएको हो ।
नेपालमा गैरकानुनी मानिएको क्रिफ्टो करेन्सीमार्फत् अवैध रुपमा आर्जन गरेको र नेपालबाट हुण्डीमार्फत् विदेशमा रकम पठाएर सञ्चित गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । श्रेष्ठले क्यानडा, अस्ट्रेलियालगायतका देशहरुका बैंकमा रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । क्रिप्टो करेन्सीको कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत असार २९ गते श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।