काठमाडौं । नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूको भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुनेबारे छलफल भएको छ ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने तथा सरकारमा सहभागी हुने विषयमा पनि सकारात्मक कुराकानी भएको बताए ।
‘नागरिकतासम्बन्धी ऐन पारित गरी कार्यान्वयन गर्न र निर्दोष कार्यकर्ताको रिहाइ गर्ने विषयमा सकारात्मक छलफल भयो, प्रधानमन्त्रीज्यू पनि हाम्रा माग सम्बोधनका विषयमा सकारात्मक हुनुहुन्छ’, उनले भने ।
प्रधानमन्त्री देउवाले नागरिकतासम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक भएका नेता महतोले जानकारी दिए ।
भेटवार्तामा प्रधानमन्त्रीसहित सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्णलगायतको सहभागिता रहेको थियो ।